तत्कालीन सचिव डा.नम्रता सिंहसहितका कर्मचारी र फार्म सञ्चालकहरू भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतबाट मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा.नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यद्वय रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले तत्कालीन सचिव सिंह, मन्त्रालयकै तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषा कार्यालयका प्रमुख शंकरप्रसाद साह र युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक लक्ष्मीनारायण यादवलाई दोषी ठहर गरेको छ । उनीहरूलाई १ वर्ष कैद, जनही २५ लाख जरिवाना र सोहीबराबरको बिगो असुलउपर गर्न फैसला गरेको छ ।

कृषि फार्मबाट थप २५ लाख जरिवाना र सोहीबराबरको बिगो असुलउपर गर्नुपर्ने फैसला भएको छ । सिंह, साह र यादव तथा युवरानी कृषि फार्मबाट थप एक–एक लाख जरिवाना असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने पनि अदालतको फैसला छ ।

युवरानी कृषि फार्म र सञ्चालक यादवबाट थप ४०–४० हजार रुपियाँ जरिवाना तिराउने फैसला भएको छ । अख्तियारले प्रतिवादी बनाएको अन्य कर्मचारीहरू अमरचन्द्र मण्डल, ब्रजेशकुमार साह, रञ्जितकुमार अधिकारी, अविनाशकुमार झा र विकास साहले सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव सिंहसहितका कर्मचारी र कृषि फर्मका सञ्चालकहरूले १ करोड रुपियाँ अनुदान प्रवाहमा भ्रष्टाचार भएको अरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Published : Friday, 2025 June 6, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया