नारायणकाजी र रविको पालामा भिजिट भिसामा धेरै उडेको तथ्याङ्क, भुतुक्कै भए माओवादी-रास्वपा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय बसेका पुष्पराज शाहीदेखि तीर्थराज भट्टराईसम्मको भिजिट भिसाको फेहरिस्त सार्वजनिक भएको छ ।
सहसचिव तीर्थराज भट्टराईको भिजिट भिसा प्रकरण बाहिर आएपछि शाहीदेखि भट्टराईसम्मको भित्री कुराहरू सार्वजनिक भएका हुन् ।
बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’ र रमेश लेखकसम्म गृहमन्त्री भएका बेलाको फेहरिस्त सार्वजनिक भएको छ । बालकृष्ण खाण गृहमन्त्री भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको भूमिकामा पुष्पराज शाही र बासुदेव घिमिरे रहेका थिए ।
गृह मन्त्रालयका अनुसार शाही १० महिना २५ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा बस्दा १३९९० जना भिजिट भिसामा उडेको तथ्याङ्कबाट देखिएको छ ।
शाहीले कमाण्ड लिएका बेला प्रतिदिन औसत ४६६ जना भिजिट भिसामा विदेशिएको पाइन्छ । वन मान्छेको रूपमा परिचित शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख सचिवको भूमिकामा छन् ।
अहिले रूपन्देहीको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे प्रमुख अध्यागमन अधिकृत हुँदा १८१९३ जना भिजिट भिसामा विदेशिएको तथ्याङ्कले देखाएको छ ।
६ महिना २९ दिन अध्यागमन बसेका घिमिरेको पालामा दैनिक औसत ६०६ जना देश छोडेर विदेश उडेका छन् ।
बालकृष्ण खाणपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका थिए । नारायणकाजी श्रेष्ठको पालामा विमानस्थलको अध्यागमनमा ३ जना सहसचिव फेरिएका छन् । रामबन्धु सुवेदी, गोगनबहादुर हमाल र नरबहादुर थापा नारायणकाजीका बेलामा अध्यागमन अधिकृत भएका थिए ।
रामबन्धु सुवेदी प्रमुख अध्यागमन अधिकृत हुँदा भिजिट भिसामा १६९५८ जना विदेशिएको पाइन्छ । अध्यागमनको तथ्याङ्क अनुसार ५ महिना १२ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका सुवेदीको पालामा दैनिक औसत ५६५ जना भिजिट भिसामा उडेका थिए । सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन् ।

अहिले कैलालीको सिडिओ रहेका गोगनबहादुर हमाल प्रमुख अध्यागमन अधिकृत हुँदा १८४५६ जना नेपाली भिजिट भिसामा विदेश उडेको देखिन्छ । ६ महिना ५ दिन प्रमुख अध्यागमन अधिकृत भएका हमालको पालामा दैनिक औसत ६१५ जना विदेशिएको रेकर्डबाट खुलेको छ ।
हाल भोजपुरको सीडीओ रहेका नरबहादुर थापा प्रमुख अध्यागमन अधिकृत हुँदा २२२७९ जना भिजिट भिसामा विदेशिएको खुल्न आएको छ । २ महिना १६ दिन अध्यागमन बसेका थापाको पालामा दैनिक औसत ७४३ जना भिजिट भिसामा विदेश उडेका थिए ।
गृहमन्त्री रवि लामिछाने भएपछि सुरेश पन्थी प्रमुख अध्यागमन अधिकृत बनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयमा गएका थिए । पन्थीको पालामा २६२२८ जना भिजिट भिसामा विदेशिएका थिए । पन्थीको पालामा दैनिक औसत ८७४ जना भिजिट भिसामा देश छाडेर हिँडेको पाइन्छ ।
४ महिना २ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका पन्थीको भिजिट भिसामा उड्नेको दैनिक औसत संख्या हेर्दा रेकर्ड ‘ब्रेक’ हुने देखिएको छ । पन्थी अहिले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुन् । लामिछाने सहकारीको करोडौं रकम ठगी र संगठित अपराधको अभियोगमा जिल्ला कारागारा रुपन्देहीमा थुनिएका छन् ।
रमेश लेखक गृहमन्त्री भएपछि प्रमुख अध्यागमन अधिकृत भएका तीर्थराज भट्टराईको पालामा २०६५० जना भिजिट भिसामा उडेको पाइन्छ । ७ महिना १५ दिन अध्यागमन बसेका भट्टराईले दैनिक औसत ६८८ जना नेपालीलाई भिजिट भिसामा उडाएको देखिन्छ । भिजिट भिसा प्रकरणले सहसचिव भट्टराई अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन् ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद अबरुद्ध बनाउँदै आएका छन् ।
लेखकको राजीनामा माग गरिरहेका माओवादी र रास्वपाका तत्कालीन गृहमन्त्री श्रेष्ठ र लामिछाने कै समयमा सबैभन्दा धेरै भिजिट भिसाामा उडेको तथ्याङ्क बाहिर आएपछि संसद अबरोध गर्दै आएका विपक्षी दलहरूले के गर्ने हुन् ? प्रश्न उठेको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया