गठबन्धनलाई टिकाइराख्न प्रधानमन्त्रीको बढि जिम्मेवारी हुन्छ : कांग्रेस प्रवक्ता डा.महत

गोरखा । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले एमाले–कांग्रेसको गठबन्धन नटुट्ने बताएका छन् ।

मंगलबार गोरखामा आयोजित कार्यक्रममा डा.महतले अहिलेको गठनबन्धन उच्चकोटीको भएकाले टुट्ने सम्भावना नभएको बताए ।

उनले भने, ‘धेरै अखबरको सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु । यो गठनबन्धन उच्चकोटीको भएकाले एक अर्काको दृष्टिकोणलाई बुझ्नु पर्दछ ।’

‘कसैको मत शतप्रतिशत लागू हुन्छ भन्न सकिँदैन । गठबन्धन भन्नेबितिक्कै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ,’ डा.महतले भने ।

एकले अर्काको प्रस्तावलाई कदर गर्नुपर्ने, यथेष्ट आधारहरू भए स्वीकार गर्नुपर्ने बताएका छन् ।

गठबन्धनलाई टिकाइराख्न प्रधानमन्त्रीको बढि जिम्मेवारी हुने डा.महतले बताए । उनले यसमा आशंकाको वातावरण सिर्जना नगर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् ।

‘मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो,’ डा.महतले भने, ‘यसअघिका गठबन्धन भन्दा यो गठबन्धन बलियो भएकाले यसमा शंका, उपशंका उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन प्रधानमन्त्रीजी बढि जिम्मेवार हुनुपर्छ ।’

Published : Tuesday, 2025 May 20, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया