परराष्ट्रमन्त्री डा.राणा टोकियो प्रस्थान, सम्मेलनमा विशेष सम्बोधन गर्ने

काठमाडौं । एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल)को कार्यक्रममा भाग लिन परराष्ट्रमन्त्री डा.आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

सोमबार राति परराष्ट्रमन्त्री डा.राणा जापान प्रस्थान गरेकी हुन् । जापानको राजधानी टोकियोमा भोलि बुधबारदेखि सम्मेलन शुरु हुन लागेको छ । सम्मेलनमा सहभागी हुन डा.राणा टोकियोतर्फ प्रस्थान गरेकी हुन् ।

सम्मेलनलाई डा.राणाले सम्बोधन गर्ने कार्यक्रम छ । १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको कार्यक्रममा सहभागिता रहनेछ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी परराष्ट्रमन्त्री डा.राणालाई कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको छ ।

जापानमा रहँदा डा.राणाले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा.राणा आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Published : Tuesday, 2025 May 20, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया