आईजीपी थापाद्वारा कोशीका प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन

विराटनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कोशी प्रदेश प्रहरी प्रमुखसहित जिल्ला प्रहरी प्रमुखहरूलाई प्रदेशमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् ।

बुधबार विराटनगरमा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उपस्थित प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीसहित कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूलाई आईजीपी थापाले शान्ति सुरक्षाको सुव्यवस्था बनाइ राख्न निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरीको कार्य सम्पादन सम्झौता वमोजिम शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्यका साथ आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

आईजीपी थापाले लागूऔषधको प्रयोग तथा ओसार पसार, तस्करी एवम् गुण्डागर्दी, राजस्व चुहावट लगायतका गतिविधि नियन्त्रण गर्न सीमा नाकाहरूमा कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले प्रभावकारी अपराध अनुसन्धान, फैसला कार्यान्वयन, गुनासो व्यवस्थापन, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह, विपद उद्दार लगायतका कार्यमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने अभिप्रायले निस्वार्थ भावका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहल, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, नेपाल प्रहरी राजमार्ग तथा सुरक्षा व्यवस्थापन कार्यालय इटहरीका प्रमुख सहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इकाईहरूमा कार्यरत सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 May 15, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया