पोखरा र भैरहवा विमानस्थलका भ्रष्टाचारीलाई कारबाही गर्न प्रस्ताव, भैरहवामा ४१ अर्बको ऋण

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् ।

शनिबार गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । उनले भने, ‘नचल्ने एयरपोर्ट कसले बनायो ? एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरूलाई कारवाही पनि हुनुपर्छ ।’

उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने अध्यक्ष लिङ्देनले बताए ।

उनले व्यवसायिक योजना नै नबनाई ४१ अर्बको ऋणको भार लिएर विमानस्थल बनाउनुका पछाडि कमिशन खाने र भ्रष्टाचार गर्ने योजना लुकेको बताए । उनले भने, ‘पैसा खानकै लागि योजना बनाएको हो, यो सबैले बुझनुपर्छ, ठूलो योजना ल्याएपछि ठूलै कमिसन एकैपटक खान मिल्छ । आवश्यकता भन्दा बढी खर्च गर्नुको कारण पनि खान कै लागि बनाइएको योजना हो । त्यो गर्ने सबैलाई कारबाही हुनुपर्छ र विमानस्थल पूर्ण रुपमा चल्नुपर्छ ।’

दुईवटा विमानस्थलको नाममा साह्रै ठूलो अंकको भ्रष्टाचार भएको उनले बताए । पोखरा र भैरहवामा बनेको विमानस्थलको प्रारम्भिक अध्ययनले भैरहवाको संचालनमा आउन सक्ने तर प्राविधिक कारणले पोखरामा व्यवसायिक उडानको धेरै कम सम्भावना समेत रहेको लिङ्देन बताउँछन् ।

विमानस्थल बनाउनु भन्दा अगाडि नै सीमासँग नजिक भएकोले भारतसँग एअर रुटको स्वीकृत लिएर बनाउनु पर्नेमा कमिकमजोरी भएको उनले बताए ।

चौतर्फी दबाब दिएर एयरर्पोट सञ्चालनमा आएपनि वैदेशिक रोजगारमा जानेले मात्रै यो विमानस्थल नचल्ने भन्दै राप्रपाका अध्यक्ष लिङ्देनले बौद्ध धर्मावलम्बी देशबाट ठूलो संख्यामा पर्यटक भित्राउने योजना बनाउनुपर्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा बनाउन क्रममा अर्बौं रकम भ्रष्टाचार भएको छ । पोखरा झण्ड १५ अर्ब भ्रष्टाचार रहेको लेखा समितिको उपसमितिले प्रतिवेदन नै तयार परेको छ ।

पोखरा र भैरहवा विमानस्थलको तत्कालीन आयोजना प्रमुख नेपाल नागरिक उड्डयन प्राधिकरणका हालका महानिर्देशक प्रदीप अधिकारी रहेका थिए । अनियमितता, घोटाला र भ्रष्टाचार काण्डमा छानविन गरि महानिर्देशक अधिकारीलाई कारबाही गर्न उपसमितिले प्रतिवेदन बुझाएको छ । पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचारको नाइकेका रुपमा प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारबाही गर्न माग उठ्दै आएको छ ।

Published : Saturday, 2025 May 10, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया