प्रयोगशालामा उमारियो दाँत

लण्डन । किङ्स कलेज लन्डनका वैज्ञानिकहरूले प्रयोगशालामा मानिसको दाँत उमार्न सफल भएका छन् ।

दन्तचिकित्साको क्षेत्रमा यसलाई निकै ठूलो उपलब्धि मानिएको छ । मानिसको मुखभित्र त्यसरी दाँत उमारेर खाडल पुर्ने उपचार गर्न अझ धेरै समय लाग्न सक्ने भए पनि प्रयोगशालामा प्राप्त यो सफलताका कारण अनुसन्धानमा विद्यमान खाडल भने पुरिएको वैज्ञानिकहरू बताउँछन् ।

‘फेरि उमारेर जैविक विधिबाट दाँत फेर्ने यो अवधारणाले मलाई डोर्‍याएर लन्डन र किङ्स कलेज पु¥यायो,’ रिजेनरटिभ डेन्टिस्ट्रीकी निर्देशक डा.आना आन्जेलोभा–भोल्पोनीले भनिन् ।

ब्रेसेस अर्थात् दाँत तारले बाँध्ने अथवा इप्लान्ट अर्थात् कृत्रिम दाँत प्रत्यारोपण गर्ने चलन बढेको छ । इम्प्लान्ट राखेका बिरामी र तिनको उपचार गर्ने दन्तचिकित्सक दुवै पक्षले अप्रत्याशित समस्या खेप्नुपर्ने हुन सक्छ ।

‘इम्प्लान्ट राख्न शल्यक्रिया गर्नुपर्छ, इम्प्लान्ट र दाँत बस्ने हड्डी पनि मिलेको हुनुपर्छ,’ फ्याकल्टी अफ डेन्टिस्ट्री, ओरल एन्ड क्रेनिओफेशल साइअन्सेसमा विद्यावारिधि गर्दै गरेका शुएशेन चाङले भने ।

किङ्स कलेजका वैज्ञानिकहरूले इम्पेरिअल कलेज लन्डनसँगको सहकार्यमा अहिले कोषहरूबीच सङ्केत प्रवाह गर्न एउटा विशेष प्रकारको पदार्थ प्रयोग गरेका छन् ।

यसको अर्थ एउटा कोषले अर्को कोषलाई दाँत बन्ने कोष बन्न निर्देशन दिन सक्छ अनि दाँत बन्ने कोषले उम्रिने दाँतको वातावरणको नक्कल गर्न थाल्छ । यसैका बलमा वैज्ञानिकहरू प्रयोगशालामा दाँत विकास हुने प्रक्रिया अनुकरण गर्छन् ।

अब उनीहरूले प्रयोगशालामा उमारिएका दाँत बिरामीको मुखभित्र कसरी स्थानान्तरण गर्न सकिन्छ भनेर काम गर्नुपर्नेछ । त्यसका लागि धेरै वर्ष लाग्न सक्छ ।

‘मुखभित्र दाँत सार्नका लागि हामीसँग विभिन्न अवधारणा छन् । दाँत नभएको खाली ठाउँमा हामी दाँत उम्रिने कोषहरू प्रत्यारोपण गर्न सक्छौँ र तिनलाई त्यहाँ उम्रिन दिन सक्छौँ,’ जाङले भने । वैज्ञानिकहरूले जस्तोसुकै विधि रोजे पनि प्रारम्भिक प्रक्रिया भने प्रयोगशालामै सुरु हुन्छ ।

मुख सफा नराख्दा मानिसहरूको खाने, बोल्ने र अरूसँग घुलमिल हुने क्षमता प्रभावित हुन सक्छ । मुखमा हुने सूक्ष्मजीवहरू रगतमा फैलिए भने मुटुको समस्या र विभिन्न खालका सङ्क्रमण हुने जोखिम पनि बढ्छ । पाको उमेरका धेरै मानिसहरू दाँत मक्किने समस्याबाट पीडित हुन्छन् ।

किङ्स कलेजमा दन्तचिकित्साको प्रस्थोडन्टिक्स विषय प्राध्यापन गर्ने सूर्शा ओ’टूलुका अनुसार दाँत उमार्ने यो नयाँ प्रविधि निकै उत्साहप्रद छ र दन्तचिकित्सकहरूका लागि यसले नयाँ मोड ल्याइदिन सक्छ ।

Published : Wednesday, 2025 May 7, 8:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया