कांग्रेसद्वारा राप्रपा अध्यक्ष लिङ्देनलाई औकातमा बस्न चेतावनी, अराजक कार्यकर्ता सम्हाल्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरेर लिङ्देनको भ्रमपूर्ण अभिव्यक्तिको भर्त्सना गरेका हुन् ।

राप्रपाका अध्यक्ष लिङ्देनले संसदमा अभिव्यक्ति राख्ने क्रममा चैत १५ गते तीनकुनेमा राजावादीहरूको विरोध कार्यक्रमको समयमा कोटेश्वरमा भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एक जना सह–महामन्त्रीका छोरा समेत संलग्न भई प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाई गरिएको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै विभागका प्रमुख विश्वकर्माले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘अध्यक्ष लिङ्देनले लक्षित गर्नु भएको व्यक्ति एक जिम्मेवार नेपाली हुन् र उनी सो दिन नेपालमा समेत नरेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले गरेको अवाञ्छित कृयाकलाप र लुटपाटको ढाकटोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एक जना जिम्मेवार र सभ्य नागरिकमाथि लगाउनु अन्यन्तै निन्दनीय कार्य भएकोले उक्त अभिव्यक्तिको नेपाली कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘एउटा राजनीतिक पार्टीका अध्यक्षको तर्फबाट सम्मानित संसदमा आधारहीन कुराहरू प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासितर जिम्मेवार बनाउनतर्फ विशेष ध्यानदिन समेत हामी आग्रह गर्दछौँ र अध्यक्ष लिङ्देनले राजनीतिक अभिष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गर्दै यस्ता कपोलकल्पित र भ्रामक कुराहरूबाट सचेत रहन समेत सबैलाई आग्रह गर्दछौँ ।’

राप्रपाका अध्यक्ष लिङ्देनले संसदमा बोल्ने क्रममा कांग्रेसका सह–महामन्त्रीका छोराले भाटभटेनीबाट लुटपाट गरेको भनेर अभिव्यक्ति दिएका थिए । कांग्रेसले सो अभिव्यक्तिको भर्त्सना गरेको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरले पनि भाटभटेनी लुटपाटमा कांग्रेसका सह–महामन्त्रीका छोराको संलग्नता नरहेको जनाएको छ । सह–महामन्त्रीको छोरा पक्राउ पनि नपरेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2025 April 28, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया