हाम्रा पदाधिकारी साथीहरू तयार नै छन्, कांग्रेसमा यसै पनि कम्तिमा एक वर्ष थपिन्छ : डा.महत

लमही । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पार्टी १५औँ महाधिवेशन समयमावधि १ वर्ष थप हुने संकेत गरेका छन् ।

शनिबार नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले महाधिवेशनको तयारीका लागि हुनुपर्ने कतिपय कार्यहरू हुन नसकेको बताए । उनले महाधिवेशनको समय कम्तिमा पनि एक वष थप हुने अवस्था आफूले देखेको बताए ।

प्रवक्ता डा.महतले भने, ‘धेरै साथीहरू अध्यक्ष लड्नेदेखि लिएर, महामन्त्री लड्नेदेखि विभिन्न पद नै घोषणा गरेर महामन्त्री के, केको आइसक्यो घोषणा । अब १ वर्ष यसै थपिने भयो । हाम्रा पदाधिकारी साथीहरू तयार नै छन् ।’

‘जिल्लाबाट गएकै छैन कतिपय, पुरानै रिन्यू भएर गएको छैन । अब मंसिरमा हुन्छ ? यसै पनि कम्तिमा एक वर्ष थपिन्छ’, डा.महतले भने ।

‘त्यसपछि अरु पनि थपिने, नथपिने म भन्न सक्दैन । केन्द्रीय समितिले मूल्यांकन गर्नेछ’, उनले भने, ‘अहिलेदेखि म हुन्छु, म हुन्छु भनेर चाहिँ कुदन थाल्यो भने के हुन्छ ? हामी झन् विभाजित हुन्छौँ ।’

प्रवक्ता डा.महतले भने, ‘म हुन्छु भनेर मलाई नै इच्छा छ । मैले घोषणा गर्न थाले भने मैले यहाँ के खोज्नु पर्‍यो भने मलाई सहयोग गर्ने को को हुन सक्छन्, अर्कोले पनि त्यस्तो खोज्न सक्छ । यहाँ एकताभन्दा अझै विभाजन बढ्न सक्छ ।’

‘अधिवेशन घोषणा भएको ३ महिना अगाडि भने भइहाल्यो नि । केन्द्रीय नेतृत्व लिन चाहने मान्छेहरूलाई त चिन्दै नचिनेको मान्छे एक्कासि आउने त होइन’, डा.महतले भने, ‘चिनेकै छन् । आफ्नो एजेण्डा भन्नको लागि ३ महिना भए पुग्छ । आम निर्वाचन १ महिना भए पुग्छ अहिले ।’

Published : Saturday, 2025 April 26, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया