प्रचण्ड र केही तत्वहरूलाई ओलीको कडा जवाफ

काठमाडौं । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको बताएका छन् ।

शनिबार काठमाडौंमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिए । उनले भने, ‘सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ ।’

‘शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरू फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो’, ओलीले भने, ‘त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका केही नेताहरूले सरकार ढल्न लागेको भनेर भ्रम फैलाएका थिए । कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो आधारमा अगाडि बढेपछि सत्ताभन्दा बाहिर रहेको माओवादीलाई सबैभन्दा धेरै तनाव भएको छ ।

Published : Saturday, 2025 April 26, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया