१५ अर्ब घोटालाका ठूलोमाछा बचाउन दौडधुप, प्रदीप र मन्त्रीबीच गोप्य भेट, ७० करोड वाला गोकुल-योगेशकाे पनि भेट

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको झण्डै १५ अर्ब भ्रष्टाचार र घोटाला काण्डमा पहिलो नम्बरमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग भेट गरेका छन् ।
शुक्रबार बिहान दोहाबाट काठमाडौं आएका महानिर्देशक अधिकारीले मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा एक घण्टा गोप्य रुपमा भेट गरेर बचाउन हारगुहार गरेको उच्च स्रोतले जनाएको छ । शुक्रबार मन्त्री पाण्डे काठमाडौं बाहिर जान लागेका थिए ।
मन्त्री पाण्डेले १५ अर्ब घोटालामा मुछिएका महानिर्देशक अधिकारीलाई बचाउने र संरक्षण गर्ने आश्वासन दिएको चर्चा प्राधिकरणका कर्मचारीभित्र छ । मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच बचाउने गरी कुराकानी भएको आरोप छ ।
पोखरा विमानस्थल निर्माणमा महानिर्देशक अधिकारीले घोटाला गरेको भन्दै सार्वजनिक लेखा समितिको राप्रपाका सांसद राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिको प्रतिवेदनमा अधिकारीलाई मुख्य नाइके भन्दै तत्काल निलम्बन गरि अनुसन्धान, छानविन र कारबाहीको प्रस्ताव भएको छ । अधिकारी तत्कालीन समयमा पोखरा विमानस्थल बनाउने क्रममा आयोजना प्रमुख रहेका थिए ।
महानिर्देशक अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई लिएर विदेश उडेका थिए । करीव २ हप्ता विदेशतिर घुमघाम गरेर महानिर्देशक अधिकारी शुक्रबार बिहान काठमाडौं ओर्लिएका हुन् । महानिर्देशक अधिकारी र महाप्रबन्धक निरौला चैत २६ गते टर्किस एयरलाइन्सको जहाजबाट टर्कीको स्तानबुलतिर उडेका थिए । स्तानबुलबाट महानिर्देशक अधिकारी र महाप्रबन्धक निरौला एकाएक गायब भएका थिए । त्यसपछि उनीहरू शुक्रबार दोहामा देखिएका थिए ।
महानिर्देशक अधिकारी सार्वजनिक लेखा समितिको उपसमितिले आरोप लगाए जस्तै झण्ड १५ अर्ब घोटाला भएको रकमलाई व्यवस्थापन गर्न विदेश गएको भनेर प्राधिकरणभित्र चर्चा छ ।
निकै चिन्तित र हतार मनस्थितिमा देखिएका अधिकारीलाई मन्त्री पाण्डेसँग आफूलाई महानिर्देशक पदबाट निलम्बन नगर्न आग्रह गरेको मन्त्री पाण्डे निकट स्रोतले जनाएको छ । विवादित, बदनाम र उपसमितिले भ्रष्टाचारमा डामेका महानिर्देशक अधिकारीलाई मन्त्री पाण्डेले निरन्तर भेट गर्नुका साथै बचाउन किन लागेका हुन् भनेर प्रश्न उठेको छ ।
पोखरा घोटाला र भ्रष्टाचार काण्डमा महानिर्देश अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । अधिकारीसँग पटक पटक बयान लिएको आयोगले कुनै पनि बेला विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ । आफूलाई भ्रष्टाचार मुद्दा लाग्ने भएपछि महानिर्देशक अधिकारी पोखरा विमानस्थल निर्माण हुँदा घोटाला गरेर आर्जन गरेको पैसालाई विदेशमा व्यवस्थापन गर्न खोजेको आरोप छ ।
महानिर्देशक अधिकारीले विदेश जान अगाडि उपसमितिको प्रतिवेदन आउन लागेको थाहा पाएपछि एमालेका सांसद गोकुलप्रसाद बास्कोटालाई प्राधिकरणको सिनामंगल कार्यालयमा बोलाएर गोप्य रुपमा लामो छलफल गरेका थिए । तत्कालीन समयमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रहेका बेला ७० करोड घोटालामा मुछिएका एमालेका सांसद बास्कोटाले झण्ड १५ अर्ब घोटालामा मुछिएका महानिर्देशक अधिकारीलाई बचाउन सहयोग गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ ।
महानिर्देशक अधिकारीले नेपाली कांग्रेसका सांसद दीपक गिरी र एमालेका सांसद समेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि गोप्य रुपमा भेट गरेर बचाउन अनुरोध गरिसकेका छन् । तत्कालीन मन्त्री भट्टराई पनि पोखरा विमानस्थल घोटाला काण्डमा पर्ने सम्भावना छ । भट्टराईसँग पनि अख्तियारले बयान लिइसकेको छ । १५ अर्ब घोटाला काण्डमा मुछिएका महानिर्देशक अधिकारीसहित व्यक्तिहरूलाई बचाउन उपसमितिका सदस्यहरू एमालेका सांसदद्वय तारा लामा तामाङ र गोकुल बास्कोटा तथा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले उपसमितिको प्रतिवेदनमा हस्ताक्षर गरेका छैनन् । यो घाटालामा अन्य ठूला माछा, कर्मचारी र नेताहरू पनि पर्ने सम्भावना छ ।
यसैबीच, महानिर्देशक अधिकारी दुई दिनपछि भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको कार्यक्रममा भाग लिन जान लागेका छन् । पोखरा विमानस्थलको १५ अर्ब घोटाला र भ्रष्टाचार काण्डमा मुछिएका अधिकारी अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा भाग लिन जान लागेपछि प्राधिकरणका कर्मचारीहरूले मन्त्री पाण्डेसँग यो विषयमा कुरा राखेका छन् । भ्रष्टाचार काण्डमा मुछिएका र उपसमितिले डामेका महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय कार्यक्रममा कुन मुख देखाउन जान लागेका हुन् भनेर प्रश्न उठएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया