कांग्रेसभित्र विभिन्न नियुक्तिहरूमाथि छलफल, कुराकानी भइरहेको, सहमति जुट्ने

काठमाडौं । नेपाली कांग्रेसले नियुक्तिहरू सन्तुलनका आधारमा हुनुपर्ने जनाएको छ ।

बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा समन्वय र आवश्यक्ताका आधारमा सरकारले काम गर्ने प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘गठबन्धन भन्ने वित्तिकै एउटै दलको हुँदैन । चाहे प्रधानमन्त्री भएको दल नै किन नहोस् । त्यसमा समन्वयको आवश्यक्ता छ ।’

‘सबैको कुरा समेट्नुपर्ने आवश्यक्ता छ । नियुक्तिका कुराहरूमा पनि सन्तुलनको आवश्यक्ता छ’, उनले भने ।

‘पार्टीगत एफिलेसन भन्दा पनि प्रोफेश्नल डेलिभरी गर्ने मान्छ आउनुपर्छ’, डा.महतले भने, ‘सभापतिज्यूले कुराकानी भइरहेको छ, सहमति जुट्छ भन्नुभएको छ ।’

प्रवक्ता डा.महतले सरकारले अझै राम्रोसँग काम गर्नुपर्ने र आफ्ना मन्त्रीहरूलाई परिणाम देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

‘सरकारको प्रफरमेन्स अझै राम्रो हुनुपर्छ । गठबन्धन दलबीच समन्वय हुनु पर्छ’, डा.महतले भने, ‘सन्तुलन हुनुपर्छ । सशक्त रुपमा सरकारले डेलिभरी दिन सक्नुपर्छ । तालमेल राम्रो मिल्नुपर्छ । नेतृत्व तहले कुरा गरिरहेको पनि छ ।’

Published : Thursday, 2025 April 17, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया