भाषा, संस्कृति हराए समाज कमजोर र विखण्डित हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै चिन्ता जनाएका छन् ।

सोमबार देउडा समाज केन्द्रीय कार्यालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताए । उनले भाषा र संस्कृति हराए समाज कमजोर र विखण्डित हुने बताए ।

सभापति देउवाले भने, ‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ ।’

उनले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं । अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अंग्रेजीमा बोल्ने गरेका छन् ।’

सभापति देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको बताए । उनले आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए । ‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ’, देउवाले भने, ‘भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ ।’

भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने उनले बताएका छन् ।

Published : Monday, 2025 April 14, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया