रवि थुनामा रहेकै बेला विवादित छविकी रास्वपाकी ज्वालालाई ३ दिनभित्र उपस्थित हुन आदेश

काठमाडौं । सर्वोच्च अदालते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले संग्रौलालाई अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिनुको कारण लिखित जवाफ सहित उपस्थित हुन आदेश गरेको छ । संग्रौलालाई तीन दिनभित्र लिखित जवाफसहित बयानका लागि उपस्थित हुन आदेश भएको छ ।

चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । आदेशविरुद्ध अदालतले अवहेलना हुनेगरी संग्रौलाले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।

रास्वपाकी केन्द्रीय सदस्य संग्रौलाले लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो । दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनुप¥या छ ।’

संग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी थिइन् । आदेशविरुद्ध टिकाटिप्पणी गरेर उनले अदालतको अवहेलना गरेको जिकिरसहित कानूनका विद्यार्थी प्रान्जल केसीले ज्वालालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

विवादित छविकी संग्रौला विभिन्न काण्डहरूमा पर्दै आएकी छिन् । उनलाई प्रहरीले बेलाबेला पक्राउ समेत गर्ने गरेको छ ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा रास्वपाका सभापति लामिछाने रुपन्देही काराबारमा थुनामा छन् । लामिछाने थुनामा रहेका बेला सोही पार्टीकी केन्द्रीय सदस्य संग्रौलालाई पनि मानहानी मुद्दामा अदालतले ३ दिनभित्र जवाफ दिन बोलाएको छ ।

Published : Sunday, 2025 April 13, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया