योगी आदित्यनाथले यो बेकारको हल्ला हो, भन्नुभएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे दिएको आफ्नै अभिव्यक्तिको खण्डन गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले ।’

‘उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’, देउवाले भने ।

योगी आदित्यनाथले ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो’ भनेको तथ्य भने सही नै रहेको सभापति देउवाले बताएका छन् ।

‘उहाँ दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु’, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले वर्तमान सरकारको कामकारबाहीप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनले सरकारले जनताको पैसाको सदुपयोग गर्नुपर्ने र अनावश्यक खर्च रोक्नुपर्ने बताए । ‘सरकारको नाममा अहिले धेरै ठूलो बद्नामी भइरहेको छ, यो नहोस् भन्ने चाहन्छु’, देउवाले भने ।

Published : Saturday, 2025 April 12, 3:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया