अर्को देशमा बसेर कांग्रेसलाई खत्तम बनाउने षड्यन्त्र गरिरहेका छन् : प्रवक्ता डा.महत

जनकपुरधाम । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता भेटघाटमा डा.महतले अहिले कतिपयले कुनै पार्टीहरूविरुद्ध गलत प्रचार गर्नको लागि मान्छे नै खटाइरहेको बताए ।

‘मोबाइल लिएर फलानो फलानोलाई गाली गर भनेर खटाइएको छ’, उनले भने, ‘फटाहा, चोर, बदमास हुन् भनेर भन भनेर लेखिरहेका छन्। हामीहरु आफूमाथि नै विश्वास गर्न छाडेर त्यो सुन्दा हेर्दा हाम्रो पनि त्यही कुरा विश्वास गर्ने निष्कर्षमा पुग्न थालिसकेका छौं ।’

प्रवक्ता डा.महतले अहिले कुनै अर्को देशमा बसेर कांग्रेसलाई खत्तम बनाउने षड्यन्त्र गरेर लागिरहेको पनि बताएका छन् ।

‘हाम्रो ८ लाख सक्रिय सदस्य छन् । त्यसमा एक लाखले कांग्रेसलाई सामाजिक सञ्जालमा डिफेन्स गर्न थालौं त’, डा.महतले भने, ‘कांग्रेसको कामको बारेमा भन्न थालौं त । अरुको भ्रमको बारेमा लेख्न थालौैँ त । भ्रमको पर्दा गिर्छ ।’

उनले भने, ‘अहिले राजावादीहरूले पनि त्यही गरिरहेका छन् । पहिले रविहरूले गर्थे । सामाजिक सञ्जालमा राजाको समयमा सुनौलो युग थियो भनेर प्रचार गर्दैछन् ।’

कांग्रेस प्रवक्ता डा.महतले हुलाकी सडकमा नेता कार्यकर्तालाई भेटघाट गर्दै आएका छन् ।

Published : Friday, 2025 April 11, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया