तीनकुने हिंसाका कमाण्डर पक्राउ परेकै दिन गृहमन्त्री लेखकले दिए तथ्यपूर्ण जानकारी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा लेखकले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । उनले लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने बताएका छन् ।
गृहमन्त्री लेखकले राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डर समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउबारे संसदीय समितिलाई जानकारी गराएका छन् ।
उनले भने, ‘यहाँहरूले जिज्ञासा पनि राख्नुभएको छ, दुर्गा प्रसाईंजीका बारेमा । हो, दुर्गा प्रसाईंजी पक्राउ पर्नु भएको छ, अनुसन्धान जारी छ ।’
‘पक्राउ पर्ने क्रम पनि निरन्तर अघि जान सक्छ, को–को मानिसको भूमिका देखिन्छ, त्यसअनुसार पक्राउ पर्ने अनुसन्धान हुने र कानूनी कारबाही हुँदै जान्छ’, उनले भने ।
प्रसाईंलाई प्रहरीले शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईंलाई काठमाडौं ल्याइसकिएको छ ।
चैत १५ गते तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार थिए ।
यसैबीच, गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने बताएका छन् । उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने बताए ।
उनले भने, ‘तीनकुने घटनाको सबै घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी गराउँछु । उपचार गराइरहेका घाइतेलाई सिभिल, बिएण्डबी, केएमसी र ट्रमा अस्पताल पुगेरै मैले भेटेको छु ।’
लेखकले घाइतेहरूको उपचार गर्न सम्बन्धित अस्पताल बाहिरबाट पनि औषधि किन्नु परेको र त्यसबाट खर्च भइरहेको परिवारजनबाट गुनासा आएकोले त्यस्ता औषधिको खर्च पनि सरकारले नै व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ‘बाहिरबाट औषधि किन्नुपपरे पनि रकम सरकारले दिने कुराको प्रतिबद्धता जनाउँछु, सम्पूर्ण खर्च ब्यहोर्नेछ । कसैले खर्च पाउन बाँकी भए प्रक्रिया पूरा गरी भुक्तानी हुनेछ ।’
घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई १० लाख रुपियाँका दरले आवश्यक प्रक्रिया पूरा गरी राहत उपलब्ध गराइने पनि गृहमन्त्री लेखकले बताएका छन् ।
‘घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा म प्रष्ट छु’, लेखकले भने, ‘शान्तिपूर्ण कुरा राख्ने र जनताबाट अनुमोदन हुने संविधानले अधिकार दिएकै छ ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया