गधा नुहाएर गाई हुन सक्दैन, त्यसैगरी ज्ञानेन्द्र राजा हुन सक्दैनन् : कांग्रेस सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन नसकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति बानियाँले गधालाई नहाइदिएर गाई बन्न नसके जस्तै ज्ञानेन्द्रलाई राजा बनाउने कुरा असम्भव रहेको बताए । उनले ०६२÷६३ को जनआन्दोलनबाट जनतालाई नागरिक बनाएको भन्दै नागरिक बनेको जनता रैती र नोकर नबन्ने बताए ।

सभापति बानियाँले भने, ‘गधालाई नुहाएर गाई हुँन सक्दैन । ज्ञानेन्द्र शाह प्रजातान्त्रिक राजा हुन सक्दैनन् । जसरी गधा नुहाएर गाई हुन सक्दैन त्यसैगरी ज्ञानेन्द्र शाह राजा हुन सक्दैनन् ।’

सभापति बानियाँले राप्रपालाई प्रजातान्त्रिक पार्टी भन्न नमिल्ने टिप्पणी गरेका छन् । उनले भने, ‘राप्रपाले प्रजातन्त्रको कुरा गर्नु भनेको हास्यास्पद कुरा हो । ३० वर्ष एकदलीय व्यवस्थामा हिँडेकोले प्रजातन्त्रको कुरा गरेको यो समाजलाई पुच्दैन ।’

राप्रपा र राजावादीहरू तीनकुने, बल्खु लगायतका विभिन्न क्षेत्रमा मालिक खोज्दै हिँडेको भन्दै बानियाँले रैती र नोकर बस्न चाहनेहरू नागरिक बनाउँदा पनि नोकर हुन पाउँ भनेर हिँडेको बताए ।

उनले भने, ‘रैतीबाट प्रजा बनायौं, राजासहितको प्रजातन्त्र लिएर । प्रजा पनि नभएर अझै नागरिक बनायौँ । अझैं पनि राजाका पछाडि हिँडेर रैती हुन पाउँ, नोक्कर हुन पाउँ भनिरहेका छन् ।’

‘मालिकहरूलाई मान्ने किन हुँदा रहेछन् भनेको त ७५ करोड लिएको पैसा राजा हुँदा खर्च खाने मान्छेहरू त त्यो खर्च कहाँ भयोभन्दा यसरी रैती हुन पाउँ भन्नेले बुझेर लिएका रहेछन्’, उनले भने ।

‘जनताको छोरो मालिक हुने व्यवस्था चित्त नबुझेर अहिले पनि राजालाई बोक्नेहरू, जनतालाई धोका दिनेहरू, प्रजातन्त्रको कुरा गर्नेहरू सक्रिय राजा खोज्न हिँडेका छन्’, सभापति बानियाँले भने ।

Published : Thursday, 2025 April 10, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया