ज्ञानेन्द्रका मतियार प्रसाईंद्वारा राप्रपा अध्यक्ष लिङ्देनमाथि प्रहार

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका नाम नलिएर आक्रोश पोखेका छन् ।

बुधबार फेसबुकबाट सार्वजनिक भएको भनिएको प्रसाईंको भिडियोमा राजेन्द्र लिङ्देनप्रति आक्रोश पोखिएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि प्रसाईंले प्रहार गरेका छन् । उनले ओली, दाहाल र लिङ्देन मिलेर आफूलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

प्रसाईंले भने, ‘म भाग्न जन्मिएको होइन । म विवश भएर, किन भने प्रचण्ड, केपी ओली दुई जना बसेर अरु एकजना राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर, म भोलिपर्सी सार्वजनिक गरौँला, उहाँहरूको एउटा डिसिजन के भयोभन्दा, १५ गतेको आन्दोलनलाई डिशमिश बनाउनुपर्छ र दुर्गा प्रसाईंलाई पागल जस्तो बनाउनुपर्छ, जोकर बनाउनुपर्छ र दुर्गा प्रसाईंबाट यो आन्दोलन हुँदैन भनेर जुन नेतृत्व हत्याउने कोशिष नेपालमा भइरहेको छ । त्यसमा तपाईहरू नलाग्नु होला ।’

भिडियोमा प्रसाईंले राप्रपाका अध्यक्ष लिङ्देनप्रति निकै आक्रोश पोखेको देखिएको छ । राप्रपाले चैत २६ गते बल्खमा आयोजना गरेको कार्यक्रममा प्रसाईंको बचाउमा कुनै पनि नेताले नाम लिएनन् । कसैले पनि आफ्नो पक्षमा नबोलेपछि प्रसाईं निकै आक्रोशित र तनाबमा परेका छन् । राप्रपाका अध्यक्ष लिङ्देनले तीनकुने हिंसाका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको भनेर अभिव्यक्ति दिएका थिए ।

मेडिकल व्यवसायी प्रसाईं र राप्रपाका अध्यक्ष लिङ्देन एकआपसमा मिल्न सक्दैनन् । एकले अर्कालाई रुचाउँदैनन् ।

प्रसाईंले आफूलाई थुनामा राखेर राजावादीको आन्दोलन समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् । उनले भने, ‘म पेरुको गोञ्जालो बन्न चाहन्न ।’

भिडियोमा प्रसाईंले गोञ्जालोले लगाएको जस्तो टिसर्ट लगाएका छन् । विगतमा कम्युनिस्ट पृष्ठभूमिका प्रसाईंले फेरि आफूलाई कम्युनिस्टतिर झुकाब भएको देखाउन खोजेका छन् ।

भिडियो प्रसाईंको हो वा होइन पुष्टि हुन सकेको छैन । फेसबुकले भेरिफाइड गरेको प्रसाईंको फेसबुकबाट भिडियो सार्वजनिक भएको छैन । भिडियोलाई एडिट गरेर राखिएको छ । तस्बिर र अडियो तथा पछाडिको ब्याकग्राउडलाई जोडेर राखिएको छ ।

चैत १५ गतेको तीनकुने हिंसाका नाइके प्रसाईं घटनापछि फरार छन् । तीनकुने हिंसा हुनुभन्दा अगाडि प्रसाईंले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर बाहिरिएका थिए । त्यसपछि प्रसाईंलाई तीनकुने हिंसात्मक प्रदर्शनको कमाण्डर बनाइएको थियो । प्रसाईंलाई ज्ञानेन्द्र शाहको मतियारका रुपमा सबैले लिने गरेका छन् ।

तीनकुने हिंसापछि भूमिगत रुपमा रहेका प्रसाईंले बेलाबेला भिडियो सन्देश दिने गरेका छन् । तर, ती भिडियोहरूको आधिकारिकतामा प्रश्न पनि उठ्ने गरेका छन् ।

Published : Thursday, 2025 April 10, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया