महिला संघको क्रियाशील सदस्यता र नवीकरणको फारमहरू केन्द्रलाई प्राप्त, अभिलेखको कार्य शुरु

काठमाडौं । नेपाल महिला संघले जिल्ला कार्यसमितिहरूबाट प्राप्त क्रियाशील सदस्यताहरूको फारमलाई अभिलेख गर्ने कार्य शुरु भएको छ ।

महिला संघकी अध्यक्ष उषा मिश्रका अनुसार केन्द्रीय कार्यालयमा क्रियाशील फारम बुझाउने र बुझ्ने कार्य भइरहेको छ । धेरै जिल्लाहरूबाट क्रियाशील सदस्यताको फारम प्राप्त भएको र त्यसलाई व्यवस्थित गर्न इन्ट्री गर्ने तथा डाटाबेसमा राख्ने कार्य भएको छ ।

देशभरिका नेपाल महिला संघका क्रियाशील सदस्यहरूलाई एकबद्ध गर्नका लागि महिला नेतृहरू अहोरात्र खटिरहेका छन् ।

जिल्लाका अध्यक्षहरूले मेहनत गरेर पठाएको क्रियाशील आवेदन र नवीकरण दुवैको व्यवस्थीकरणका लागि कार्यसम्पादन भइरहेको अध्यक्ष मिश्रले बताएकी छिन् ।

नेपाल महिला संघको चौथो महाधिवेशन समयमै सम्पन्न गर्न केन्द्रीय कार्यसमितिका साथै जिल्ला कार्यसमितिहरूले काम गरिरहेका अध्यक्ष मिश्रले बताइन् ।

महिला नेतृहरूले अधिवेशनले नयाँ नेतृत्व ल्याउने बताएका छन् । नयाँ नेतृत्वले नयाँ सोँच र नयाँ जाँगरका साथ महिला संघलाई अझ सशक्त बनाउने नेतृहरूले बताएका छन् ।

‘हामी काम गरिरहेका छौं । अधिवेशन भाड्न केही वर्ग लागे पनि अब महिला संघको अधिवेशनलाई रोक्न सकिँदैन, रोक्न पनि हुन्न’, महिला नेतृहरूले भनेका छन् ।

‘जिल्ला अध्यक्षहरूलाई अनुरोध छ । क्रियाशील पठाउन बाँकी रहेको जिल्लाहरूले समयमै क्रियाशील फारम केन्द्रमा बुझाउनुहोला । कुनै भ्रमको पछि नलाग्नुस् काम नगर्नेहरू हल्ला गर्न रुचाउँछन्’, अध्यक्ष मिश्रले भनेकी छिन् ।

Published : Wednesday, 2025 April 9, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया