हिन्दू संस्कृति र परम्परामा अडिग छौँ : सभापति देउवा

गहनानधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताएका छन् ।
आइतबार डडेल्धुरा र डोटीको सङ्गमस्थल गहनानधाममा श्रीमद्भागवत महायज्ञको उद्घाटनपछि सम्बोधन गर्दै देउवाले हिन्दू परम्परालाई मान्ने नेपालीको संस्कृति रहेको बताए । पछिल्लो समयमा केही सांस्कृतिक विचलन आइरहेको बताउँदै उनले आफ्नो धर्म, संस्कारबारे सचेत रहन यस किसिमका धार्मिक कार्यक्रम उपयोगी हुने बताएका छन् ।
सभापति देउवाले भने, ‘हामी हिन्दू संस्कृति र परम्परामा अडिग छौँ । हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो । गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो ।’
‘गौ हत्या गर्न पाइँदैन । त्यसमा कडा कानून छ’, देउवाले भने, ‘यसलाई अझै कडाइका साथ लागू गर्न हामी प्रतिबद्ध छौँ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणीधाम गहनान डोटी–डडेल्धुरा क्षेत्रको ठूलो र महत्वपूर्ण मसान भएको बताएका छन् ।
‘यो हाम्रो पुर्खाहरूको चिहान हो, उनहरूलाई यही जलाएको हो । यसका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ’, उनले भने, ‘यो क्षेत्र विभिन्न ऋषिमुनिहरूले तपस्या गरेको पवित्र स्थान पनि हो । यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक म पनि पुगेको छु ।’
सभापति देउवाले गहानान क्षेत्रमाथि डाँडामा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झिएका छन् । उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर पूर्व उत्तरका स्थानीयको पवित्रस्थलका रूपमा गहनान रहेको बताए ।
‘घण्टेश्वर उताका स्थानीय महाकाली नदी किनारमा रहेको परशुरामधाम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो’, सभापति देउवाले भने ।
‘घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पूर्खौंदेखि रहिआएको छ’, उनले भने, ‘यो महत्वपूर्ण क्षेत्रको संरक्षण र प्रचार आवश्यक छ ।’
गहनानधाम डडेल्धुराको नवदुर्गा गाउँपालिका–४, गन्यापधुरा गाउँपालिका–५ र डोटीको शिखर नगरपालिका–१० को सङ्गमस्थल बानेडुग्रिसैनमा अवस्थित छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया