प्रकृति लम्साल प्रकरणपछि डा.राणाले भनिन्, ‘विदेश अध्ययनमा जाने विद्यार्थीको तथ्याङ्क परराष्ट्रमा पनि राख्नुपर्छ’

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको उडिसाराज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको मृत्युपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कुटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छिन् ।

ओमानमा सम्पन्न आठौं हिन्दमहासागर सम्मेलनमा सहभागी भइ बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले केआईआईटी प्रकरणमा आफूले उडिसाका उच्च शिक्षामन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको बताइन् । उनले छानविनपछि प्रकृति लम्साल प्रकरणमा दोषीमाथि कानूनी कारबाहीका साथै नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्था गर्न आग्रह गरेको बताइन् ।

उडिसाराज्यकका उच्च शिक्षामन्त्री सुरजले पनि घटनालाई उडिसाराज्यले गम्भीर रुपमा लिएको बताएका छन् । प्रकृति लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको मन्त्री सुरजले जानकारी गराएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

डा.राणाले भनेकी छिन्, ‘केआईआईटी घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु ग¥यौं । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ । त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरूबीच समन्वय ग¥यौं ।’

‘त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छभने दुर्व्यबहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ’, डा.राणाले भनेकी छिन् ।

विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानूनी काबराहीको माग नेपालले गरेको डा.राणाले बताइन् ।

केआईआईटी घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले उडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर, सबैको तथ्याङ्क परराष्ट्रसँग नरहेकाले आगामी दिनमा विदेश अध्ययन गर्न जाने विद्यार्थीको तथ्याङ्क परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिए उनीहरूको उद्धारका लागि सजिलो हुने बताएकी छिन् ।

उनले भनिन्, ‘नेपालीहरू को कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैन । समस्यामा परेपछि र उद्धार गर्नुपर्ने भएपछि थाहा हुन्छ ।’

‘त्यसपछि लगत्तै उनीहरूको उद्धार गर्नका लागि परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि छैन’, डा.राणाले भनिन्, ‘यसकारण पनि समस्या भइरहेको छ ।’

परराष्ट्रमन्त्री डा.राणा सम्मेलनमा भाग लिन फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् । सम्मेलनका क्रममा भारत, जापान लगायतका देशका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता भएको थियो ।

Published : Thursday, 2025 February 20, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया