केआईआईटीमा प्रकृतिको मृत्युबारे सांसदहरूको विरोध, भारतसँग छानविनको माग

काठमाडौं । सांसदहरूले भारतको ओडिसामा रहेको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले रुपन्देहीकी प्रकृति लम्सालको घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन् । सांसदहरूले नेपाली विद्यार्थीमाथि केआईआईटी कलेज प्रशासनले गरेको दुर्व्यवहारको विरोध गरेका छन् ।

प्रकृति लम्सालको मृत्युलाई आत्महत्या भनेर घटनालाई सामसुम पार्न खोजिएको सांसदहरूले बताए । सांसदहरूले प्रकृति लम्सालको मृत्युमा एडरिक श्रीवास्तव मूल कारक तत्व हुन सक्ने रिपोर्टहरू आएको बताए । एडरिक श्रीवास्तवलाई अनुसन्धानको दायरमा राखेर कारबाहीको माग सांसदहरूले गरेका छन् ।

छिमेकी राष्ट्र भारतमा नेपालीहरूप्रति हुने यस्ता घटनाले कुटनीतिलाई पनि असर पर्ने सांसदहरूले चेतावनी दिएका छन् ।

विश्वविद्यालय प्रशासनबाट भएको आक्षेप, अभिव्यक्ति, शब्द र व्यवहारको सांसदहरूले विरोध गरेका छन् । विश्वविद्यालयमा सामान्य आचरण पनि नगरिएको सांसदहरूको आरोप छ ।

सांसदहरू शान्ति विश्वकर्मा, छविलाल विश्वकर्मा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, ठाकुर गैरे, वीना लामा, मनीष झा, लगायतले केआईआईटीको घटनाको विरोध गरेका छन् ।

Published : Tuesday, 2025 February 18, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया