नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, दुई देशको हितबारे कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा र भारतका विदेशमन्त्री डा.एस.जयशंकरबीच भेटवार्ता भएको छ ।

आइतबार ओमनको मस्कटमा डा.राणा र डा.जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री डा.राणाले भारतका विदेशमन्त्री डा.जयशंकरसँग नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको बताएकी छिन् । डा.राणाले आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्री डा.जयशंकरलाई बताएकी छिन् ।

उनीहरूबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

डा.राणा र डा.जयशंकरबीच दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।

काठमाडौंमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत् निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताइन् । उनले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरूबीच कुराकानी भएको छ ।

नेपाल–भारत बंगलादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको उर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको डा.राणाले बताइन् । उनले त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको बताएकी छिन् ।

क्रस बोर्डर विद्युत् व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको छ । नेपाल–भारतबीचको व्यापार सन्धीको पुनरावलोकन, यही जनवरीमा काठमडौंमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको छ ।

भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाहहरू सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवर्द्धन तथा दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै परराष्ट्रमन्त्री डा.राणाले प्रसंशा गरेकी छिन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरू समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा उनीहरूबीच छलफल भएको छ ।

माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्री डा.जयशंकरले धन्यवाद व्यक्त गरेका छन् । विदेशमन्त्री डा.जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि राखेका छन् ।

परराष्ट्रमन्त्री डा.राणा र भारतका विदेशमन्त्री डा.जयशंकर आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका छन् ।

Published : Sunday, 2025 February 16, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया