दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउँछौँ : डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले अहिलेका मन्त्रीहरूलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छिन् ।

बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि पत्रकारहरूसँग डा.राणाले भनिन्, ‘सरकारमा रहेका दुई पार्टीहरू धेरै नै पुराना पार्टीहरू छन् । हामीले काम गर्नसक्छौँ । हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन ।’

‘किनभने हामीले गरेर देखाइसकेका छौँ’, डा.राणाले भनिन्, ‘हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो ।’
उनले भनिन्, ‘हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै योङ, भर्खर नयाँ नयाँ छौँ ।’

‘हुनतः म त्यति होइन, अरुअरु हुनुहुन्छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् । परराष्ट्रमन्त्री डा.राणाले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको भन्दै आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताइन् ।

अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने डा.राणाले बताएकी छिन् ।

‘इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरू यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डायास्पोरा धेरै छ’, डा.राणाले भनिन्, ‘अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो । हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ ।’

उनले भनिन्, ‘दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ ।’

परराष्ट्रमन्त्री डा.राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्‍याउने बताएकी छिन् ।

डा.राणाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी पनि छिन् । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

Published : Wednesday, 2024 July 31, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया