बालेनको लोकप्रिय निर्णय, पार्किङ्गमा शुल्क लिए ९८५१०५१६१० मा सम्पर्क गर्न अनुरोध
काठमाडौं । व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौं महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।
आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१० ५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीबाट सवारी पार्किङ गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ ।
सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइनेछैन । ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनु पर्ने व्यवस्था गरेको छ ।
यो ऐन जारी भएका बखत महानगरपालिकाले अवधि तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ ।
यस्ता स्थानमा पार्किङ्ग गराउँदा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र वहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ्ग सञ्चालन व्यवस्थापन हुनेछ ।
न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौंको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । ती क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपियाँ र प्रतिघण्टा २५ रुपियाँ कायम गरिएको छ ।
४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपियाँ र प्रति घण्टा ८० रुपियाँ कायम गरिएको छ । महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपियाँ, ४ पाङ्ग्रेका लागि ४० रुपियाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा १०० रुपियाँ कायम गरिएको छ ।
निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपियाँ, पहिलो १ घण्टाका लागि २५ रुपियाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपियाँ थप शुल्क लिन सकिनेछ । यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपियाँ, पहिलो एक घण्टाका लागि ७५ रुपियाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपियाँ शुल्क लिन सकिनेछ ।
सूचना पाटीमा पार्किङ्ग दर्ता नम्बर, पार्किङ्ग सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ्ग शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ ।
अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनहरूलाई पार्किङ्ग शुल्क लाग्ने छैन । आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई नि:शुल्क पार्किङ्गको व्यवस्था हुनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया