अध्यागमन विभागका निकम्मा कर्मचारीविरुद्ध प्रदर्शन
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले अध्यागमन विभागको ज्यादतीविरुद्ध प्रदर्शन गरेका छन् ।
आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरूले विभागको मुख्यालय कालीकास्थान अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन गरेको जनाएका छन् ।
प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले विभागका निकम्मा कर्मचारीहरूका कारण सबै प्रक्रिया पूरा गरेर वैदेशिक रोजगारीमा जान हिँडेका नेपालीहरूले दु:ख पाएको बताएका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण कामदारहरू फर्काइरहेको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण विरोध गर्नुपरेको बताएका छन् ।
अध्यागमन विभागले नागरिकलाई दिएको दु:ख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने उनले बताए ।
अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दु:ख दिने कार्य बन्द गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया