प्रहरीले भारतबाट रोशनलाई कठालो समातेर धनुषा ल्यायो, ९०७ जना मान्छेहरू पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवाबाट फरार ६ जनामध्येका एकजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट पक्राउ गरेको छ ।

उनीहरू २०७९ माघ १५ गते फरार भएका थिए । धनुषा प्रहरीको निरन्तरको सक्रियता र खोजतलाशका क्रममा फरार भइ भारतमा बस्दै आएका अभियुक्त क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैयाका २५ वर्षीय रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान भारतको बिहारको सीतामढीबाट महोत्तरी औरही बजारबाट फरार अभियुक्त यादवलाई पक्राउ गरेको एसपी खड्काले बताए ।

एसपी खड्काले यादव सार्वजनिक शान्ति सुरक्षाविरुद्धको मुद्दामा थुनुवामा रहेको बताएका छन् । माघ १५ गते फरार भएका ६ जना अभियुक्तमध्ये ५ जना अभियुक्तलाई १५ दिनभित्रै पक्राउ गरिएको थियो । ती सबै अभियुक्तहरू नेपालबाट पक्राउ परेको खड्काले बताएका छन् ।

यादव फरार भइ भारततर्फ रहेको र उनलाई ट्रेस गर्दै जाँदा पक्राउ गरिएको एसपी खड्काले बताएका छन् । यादव भारततर्फ भाग्न सफल भएकोले पक्राउ पर्न केही समय लागेको उनले बताए ।

एसपी खड्का जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख बनेर कमाण्ड सम्हालेपछि प्रहरीको नजर झुक्काएर लुकीछिपी बस्दै आएका धेरैलाई पक्राउ गरिएको छ ।

एसपी खड्काले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभिन्न मुद्दाका ७ सय ९ जना अभियुक्तहरूलाई पक्राउ गरेका छन् । यसअघि आर्थिक वर्ष २०७८/०७९ मा धनुषा जिल्लामा १ सय ८३ जना फरार अभियुक्त पक्राउ परेका थिए ।

माघ १५ गते खाना खाएर सुतेका ६ जना अभियुक्तहरू मध्यरातमा पर्खाल भत्काएर फरार भएका थिए । फरार हुनेहरूमा लागुऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव अभद्र अव्यवहारसम्बन्धी मुद्दाका हरि बिक तथा हातहतियार खरखजाना मुद्दाका रोशन महतो र शंकर सहनी फरार भएका थिए ।

थुनुवा कक्षबाट एकै पटक ठूलो संख्यामा अभियुक्तहरू फरार भएपछि धनुषा प्रहरी आलोचना भएका बेला भारतबाटै फरार अभियुक्तलाई पक्राउ गरेर धुनषा प्रहरी सफल भएको छ ।

Published : Sunday, 2023 June 11, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया