केन्द्र सरकाले प्रदेशलाई अधिकार नदिएर अपाङ्ग बनायो : मुख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएर अपाङ्ग बनाएको बताएका छन् ।

बिहीबार पाल्पाको बसन्तपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले संघीयतालाई प्रदेश सरकारले व्यवहारिक रुपमा प्रयोग गर्न नपाएको बताए । उनले प्रहरी ऐन, कर्मचारी ऐनलगायतका थुप्रै कानूनहरु कार्यान्वयनमा नलगेर प्रदेश सरकारलाई काम गर्न अबरोध गरेको बताएका छन् ।

मुख्यमन्त्री चौधरीले यसरी कानून नै नबनाएर प्रदेशलाई कहिलेसम्म अलमलाउने सम्माननीय प्रधानमन्त्रीज्यू भनेर प्रश्न गरेका छन् । चौधरीको कुरा सुनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउको हल्लाएका थिए ।

चौधरीले भने, ‘प्रदेश सरकार छ, एक जना प्रहरी यताउता गर्न पाउँदैन, कर्मचारी खटनपटन गर्न पाउँदैन, अन्य अधिकार बाझिएका धेरै कानुन बनेकै छैनन्, अनि कसरी संघीयता बलियो बन्छ सम्माननीय प्रधानमन्त्रीज्यू ? यसरी त अहिलेको व्यवस्था नै संकटमा पर्छजस्तो भइसक्यो त ।’

मुख्यमन्त्री चौधरीले भने, ‘संघीयता आइसकेपछि लुम्बिनीमा के छ ? यसको विकास कसरी गर्नुपर्छ र देशको आर्थिक विकासमा के गर्नुपर्छ भन्ने विषयमा संघीय सरकारले विशेष ध्यान दिनुपर्छ ।’

Published : Thursday, 2023 June 8, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया