काठमाडौंबाट जुवातास खेलिरहेका मानिसहरु नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं र सुर्खेतबाट जुवातास खेल्ने समूहका मानिसहरुलाई नगदसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित सुनसरी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय ओमकार कार्की समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ६ सय १५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका–१ घर भएका सत्यमान तामाङले घर भाडामा लिई जुवातास खेलाइरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ९५ रूपैयाँ, अमेरिकी ५ डलर र मलेसियाको आरएम १ दरको १० वटा नोटसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शनिहलस्थित डोको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने कालिकोट रास्कोट घर भएका ४० वर्षीय मदन न्यौपाने समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Saturday, 2023 May 27, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया