रुकुम र प्यूठानमा दुर्घटना, भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । रूकुम (पश्चिम) जिल्लामा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

बाँफिकोट गाउँपालिका–८ दुली दुधारस्थित भित्री सडकमा दुलीबाट खलङ्गातर्फ जाँदै गरेको लु.१ ज १७४७ नम्बरको जीप अनियन्त्रित भएर बिहीबार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा सवार सानोभेरी गाउँपालिका–५ बस्ने ७० वर्षीय कर्ण बाठा मगर लगायत ५ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जीपमा सवारमध्ये ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाईएको छ ।

यता, प्यूठानको गौमुखी गाउँपालिका–५ खुङ छहरेखोला भन्ने स्थानमा लु.४ त १२२५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय सुमन हमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । उता, जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गोरुचौर नाग्मा मुगु सडकमा भे.१ ख २९१३ नम्बरको बसबाट लडेर बसमा सवार गोरखाको धार्के गाउँपालिका घर भएका ३० वर्षीय छन्जवीर गुरुङको बुधबार राति मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–९ भाते ढिकुर नजिकै सडकमा ना.१ ख ९८४५ नम्बरको मिक्सर गाडी र बा.९१ प १६९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक झापा घर भई हाल भक्तपुरको नलिन्चोक बस्ने २३ वर्षीय रुपेश राजबंशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिक्सर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित सडकमा बा.८५ प ७६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उप–महानगरपालिका–२३ बस्ने ६४ वर्षीय देउकी साहको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको एलएस न्यूरो अस्पताल गण्डकमा उपचार भइरहेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–६ भोटे गुम्बास्थित सडकमा भोटे गुम्वाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे.१ च ७३५३ नम्बरको स्कारपिओ गाडी आफै अनियन्त्रित बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने सागर गुरुङको छोरा ५ वर्षीय अंशुमन गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Published : Thursday, 2023 May 25, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया