साँस्कृतिक संघले राष्ट्रिय भेला गर्ने, देउवाको विशेष सम्बोधन

काठमाडौं । नेपाल साँस्कृतिक संघले देशभरिका कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ ।

संघले यही जेष्ठ १० र ११ गते काठमाडौंमा बृहत कलाकर्मीको भेला गर्न लागेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । संघका महामन्त्री राजेन्द्र खत्रीले समापन समारोहमा भने नेता शेखर कोइराला लगायतका पदाधिकारीहरूको सम्बोधन गर्नेछन् ।

साँस्कृतिक संघले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गहन दायित्व दिएर अगाडि बढाउँदा पार्टीलाई जीवन्त राख्न मद्दत जनाएको छ ।

राजनीति र राजनीतिकर्मीहरूमा आएको विचलन लोकतान्त्रिक सँस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेका भन्दै संघको चिन्ता व्यक्त गरेको छ ।

‘एउटा लामो कालखण्डसम्म आन्दोलनको नेतृत्व, संविधान अनि देशको सिंगो विकासको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली कांग्रेसमाथि आज चौतर्फी प्रहार भइरहेको अवस्थालाई नकार्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘देशकै मियो पार्टी आफै रक्षात्मक अवस्थामा आइपुग्नु निश्चयनै सुखद संकेत होइन ।’

धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नु पर्ने कुरामा दुईमत नभएको संघका अध्यक्ष तीर्थबहादुर थापाले बताएका छन् ।

नेपाल साँस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । लोकतन्त्रप्रति आस्था राख्ने देशभरिका कलाकारहरू संघमा आबद्ध छन् ।

Published : Friday, 2023 May 19, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया