पूर्वपश्चि महेन्द्र राजमार्गको देउखुरीमा बस दुर्घटना, एक जनाको मृत्यु, २२ यात्रु घाइते

लमही । दाङमा दुई वटा बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने २२ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान ६ बजेर २० मिनटमा देउखुरीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको लमही नगरपालिका ३ फलकापुरमा दुई वटा बस एकआपसमा ठोक्किएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेमा रोल्पाको रुम्टीगढी गाउँपालिका ७ बस्ने वर्ष ४३ की शोभा परियार रहेको प्रहरीले जनाएको छ । उनको शव लमही अस्पतालमा रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको नाईट बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको लोकल बस एकआपसमा ठक्कर खाएका हुन् ।

वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा १५ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको छ ।

घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लमही र फ्लोरेन्स अस्पताल लमही दाङतर्फ पठाइएको छ । दुबै सवारी घटनास्थलमै रहेका छन् । दुर्घटनाका कारण बाटो अवरोध भएको छैन ।

ना ५ ख ४८९८ नम्बरको नाईट बसमा सवार घाइतेहरूमा रोल्पाको रुम्टीगढी ४ बस्ने कमल बि.क.को छोरा वर्ष ९ को किरण बि.क.को बायाँ हात फ्याक्चर, टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । थप उपचारको लागि भैरहवा पठाइएको छ ।

रुम्टीगढी ७ बस्ने वर्ष २० कि मीना पुनको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । पुनको लमही अस्पताल लमहीमा उपचार भइरहेको छ ।

दाङको राप्ती गाउँपालिका ६ पत्थरगढवा बस्ने वर्ष २२ की सिम्रन चौधरी घाँटीमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ । उनलाई पनि थप उपचारका लागि बुटवल पठाइएको छ ।

रुम्टिगढी ४ बस्ने टीकाराम नेपालीको छोरा वर्ष ८ का विवेक नेपालीको टाउकोमा चोट लागेको छ । गम्भीर अवस्थामा रहेका नेपालीको लमही अस्पताल उपचार भइरहेको छ ।

रुम्टीगढीकै वर्ष २० का पूर्ण बि.क.को गालामा चोट लागेको छ । गम्भीर अवस्थामा रहेका उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

रुम्टीगढीकै वर्ष १६ का तिलक नेपालीको टाउको र हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र लमही अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुर उप–महानगरपालिका ५ बस्ने वर्ष २५ का पर्शराम थापाको निधारमा चोट लागेको छ । गम्भीर अवस्थाका उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको सर्लाही नगरपालिका ३ बस्ने वर्ष ४५ का ना. ५ ख. ४८९८ नम्बरको बसका सह–चालक पप्पु खानको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर छ । उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

रुम्टीगढी ७ बस्ने वर्ष २० की लक्ष्मी थापाको मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । थापाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको छ ।

लक्ष्मी थापाकी १ महिनाको शिशुको शरीरमा भित्री चोट लागेको छ । शिशुको अवस्था मध्यम रहेको छ ।

रुम्टीगढी बस्ने वर्ष ४३ की नीमा थापाको आँखामा चोट लागेको छ । उनको पनि अवस्था मध्यम रहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि भैरहवा थप उपचारका लागि पठाइएको छ ।

लु २ ख ७८५ नम्बरको लोकल बसमा सवार चालक लमही ९ च्याउखोला बस्ने वर्ष २५ का तुल्सीराम रामियालको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । उनलाई पनि थप उपचारका लागि भैरहवा पठाइएको छ ।

Published : Friday, 2023 May 19, 9:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया