तिलगंगा आँखा अस्पतालबारे सरकारको ठूलो निर्णय

काठमाडौं । सरकारले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेका मन्त्रिपरिषद बैठकले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त गरेको पनि छ ।

सरकारले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सरकारले गत बुधबार निधन भएका दोस्रो जनआन्दोलनका घाइते जिउँदो शहीद मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ ।

कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत मुकेशको ३२ वर्षको उमेरमा निधन भएको थियो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

Published : Tuesday, 2023 May 16, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया