कांग्रेस सिध्याउन ‘घण्टी कांग्रेस’को हर्कत निकै बढ्यो, नाइकेहरूद्वारा कार्यक्रम घोषणा

काठमाडौं । नेपाली कांग्रेसभित्र ‘घण्टी कांग्रेस’को आरोप लाग्दै आएका नेताहरूले पार्टीभित्र समानान्तर गतिविधि गर्ने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित एउटा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर घण्टी कांग्रेसका नेताहरूले कथित पार्टी रूपान्तरण अभियान घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वसभापतिसमेत रहेका गुरुराज घिमिरे, रञ्जित कर्ण, मधु आचार्य, देवराज चालिसे, गोविन्द पोख्रेल, भुपेन्द्रजंग शाही, भरत खड्कालगायतका नेताहरूले समानान्तर गतिविधि गर्ने घोषणा गरेका हुन् ।

घण्टी कांग्रेसले अभियानका लागि विभिन्न प्रदेशका संयोजकसमेत तोकिएका छन् ।

कोशी प्रदेशमा मधु आचार्य, मधेशमा रञ्जित कर्ण, बाग्मतीमा मधु आचार्य, गण्डकीमा चालिसे, लुम्बिनीमा गोविन्द पोख्रेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का संयोजक तोकिएका छन् ।

कांग्रेस रुपान्तरणको ध्येय नेपाली समाजको रुपान्तरण र आधुनिकीकरण हुने घण्टी कांग्रेसका नेताहरूले जनाएका छन् ।

‘नेपाली समाजलाई रूपान्तरण गर्न सर्वप्रथम कांग्रेस रुपान्तरणको अभियान चलाउन आवश्यक देखिएर नै हामी युवाहरू राष्ट्रिय अभियानमा जुटेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘पार्टी सत्तामा गएपछि पार्टीलाई सुकिलामुकिलाहरूले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरूले एकपटकफेरि लड्नुपर्नेछ आजको तितो यथार्थ यही हो’, विज्ञप्तिमा उल्लेख छ ।

घण्टी कांग्रेसका नेताहरूले भनेका छन्, ‘अब कांग्रेसले आफ्नो इतिहासलाई साक्षी राखेर नयाँ कांग्रेस निर्माण गर्नुपर्छ, कांग्रेस रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो अवश्यकता यही हो ।’

Published : Tuesday, 2023 May 16, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया