गरुडद्वारा समाचारको खण्डन, आन्दोलनकारीसँग कुनै सहमति नभएको दाबी

काठमाडौं । गरुड सेक्युरिटिज प्रा.लि.ले रिपब्लिका दैनिकमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

वैशाख १४ गते रिपब्लिका दैनिकमा प्रकाशित सो समाचारप्रति कम्पनीले असहमति जनाएको हो । कम्पनीका प्रशासन प्रमुख अभिषेकबहादुर कार्कीले खण्डन पठाएर समाचारप्रति आक्रोश पोखेका हुन् । बुधबार रिपब्लिका दैनिकले ‘गरुड सेक्युरिटीको कर्तुतहरू सार्वजनिक, तलब नपाएपछि आन्दोलन गरेर झुकाए’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

खण्डनमा आन्दोलनकारीहरूसँग कम्पनीको कुनै किसिमको सहमति नभएको दाबी गरिएको छ । वीर अस्पताल र आन्दोलनकारीबीच भएको सहमतिलाई कम्पनीसँग सहमति गरेको भनेर समाचारमा उल्लेख भएको भन्दै कार्कीले आपत्ति जनाएका छन् ।

‘कम्पनीको बारेमा कुनै तथ्य एवं आधार नभएको खवर प्रकाशित गरी गरुड सेक्युरिटीज प्रा.लि.को बदनाम गराउने कार्य भएकोमा यस कम्पनीको ध्यानकार्षण भएको छ’, खण्डनमा भनिएको छ ।

कम्पनीले आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकारबाट जारी भएका सबै किसिमका ऐन नियमहरूको पालना गरी नेपाल सुरक्षा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

खण्डनमा भनिएको छ, ‘गरुड सेक्युरिटीज प्रा.लि. र गरुड सपोर्ट सर्भिसेज प्रा.लि. दुई वटा छुट्टाछुट्टै कम्पनी भएको र गरुड सेक्युरिटीजमा कार्यरत कर्मचारीहरूले तलव नपाएपछि आन्दोलन गरेको भन्ने खबर सरासर झुठो एवं कम्पनीको बदनाम गराउने उद्देश्यले लेखिएको खबर हो ।’

गरुड सेक्युरिटीज प्रा.लि. आफ्नो स्थापनाको १९औं वर्षमा र गरुड सपोर्ट सर्भिसेज प्रा.लि. स्थापनाको १० औं वर्षमा रही आफ्ना ग्राहकहरूको आवश्यकता बमोजिम सुरक्षा एवं सहजकारी सेवा उपलव्ध गराउँदै आइरहेको कम्पनीले जनाएको छ ।

‘सम्पूर्ण कर्मचारीहरूको यस कम्पनीबाट समयमा नै तलव भत्ता लगायत सम्पूर्ण सेवा सुविधाका रकम सम्बन्धित कर्मचारीहरूको बैक खातामा जम्मा गरिदै आइरहेको छ’, खण्डनमा भनिएको छ ।

‘गरुड सपोर्ट सर्भिसेज प्रा.लि.बाट सहजकारी सेवाको निमित्त वीर अस्पतालमा कार्यरत कर्मचारीहरूको हकमा मुख्य रोजगारदाता वीर अस्पतालबाट भुक्तानी आउन ढिला भएको हो’, खण्डनमा भनिएको छ, ‘श्रम ऐन एवं नियमावलीमा मुख्य रोजगारदाता वीरअस्पतालबाट बाट भुक्तानी प्राप्त हुन ढिला भएको केही महिनासम्म कम्पनीले आफ्नो आन्तरिक श्रोतबाट व्यवस्थापन गरी कर्मचारीहरूलाई तलव भुक्तानी गरिएको छ ।’

कम्पनीले भनेको छ, ‘हाल वीर अस्पतालमा करिब १८५ जनाको संख्यामा कार्यरत कर्मचारीहरूको तलव मुख्य रोजगारदाताबाट उपलव्ध नभएको र कम्पनीको आफ्नो आन्तरिक श्रोतबाट लामो समयसम्म उपलव्ध गराइरहन असमर्थ भएको कारण त्यहाँ कार्यरत कर्मचारीहरूको तलब उपलव्धतामा केही ढिलाई भएको भने हो ।’

‘यस कम्पनीमा हालसम्म कर्मचारीहरूबाट कुनै किसिमको आन्दोलन भएको छैन र वीर अस्पतालले आन्दोलन गरेका कर्मचारीहरूसंग गरेको सहमतिलाई यस कम्पनीबाट सहमति भएको भनि खबर लेखिनु विशुद्ध रुपमा कम्पनीको बदनाम गराउने बाहेक अन्य केही कारण नभएको प्रष्ट हुन्छ ।’

‘उक्त खबरमा गरुडका देशभरि ९ हजार सुरक्षाकर्मी भएको भनि झुठो विवरण उल्लेख गरिएकोमा सो संख्यामा नभई यस गरुड सेक्युरिटीज प्रा.लि.को ४५०० जना प्लस सुरक्षाकर्मीहरू र गरुड सपोर्ट सर्भिसेजको २००० जनाको संख्यामा सहजकारी सेवाका कर्मचारीहरू कार्यरत रहेका छन्’, खण्डनमा भनिएको छ ।

सम्पूर्ण कर्मचारीहरूको तलव प्रत्येक महिनामा समयमा नै सम्बन्धित कर्मचारीहरूको बैंक खातामा जम्मा गरिदै आइरहेको कम्पनीले जनाएको छ ।

‘कम्पनीका म्यानेजिङ डाइरेक्टर १०/१५ जना बाउन्सर राखेर सुरक्षा घेराभित्र बस्छन् भन्ने खबर सत प्रतिशत कपोलकल्पित र मिथ्या खबर प्रकाशन भएको छ’, कार्कीले भनेका छन् ।

‘कम्पनीका म्यानेजिङ डाइरेक्टर एकजना ड्राईभर लिई एक्लै आफ्नो कामको सिलसिलामा उपत्यकाभित्र एवम् उपत्यका बाहिर हिड्नुहुन्छ’, कार्कीले भने, ‘कम्पनीबाट सेवा प्रवाह गरिएका ग्राहकहरूको हुने मिटिङ्ग तथा कम्पनीले कर्मचारीहरू कार्यरत स्थान बिशेषमा नै संचालन गर्ने तालिम लगायत बिविध विषयमा हुने निर्देशनको सिलसिलामा साईटमा नै उपस्थित भएर तालिम एवं निर्देशन प्रदान गर्नुहुन्छ ।’

कार्कीले कपोलकल्पित खबर छापिनुले म्यानेजिङ डाइरेक्टरको व्यक्तिगत रुपमा चरित्र हत्या गर्न खोजिएको प्रष्ट भएको जनाएका छ ।

कार्कीले गोपाल श्रेष्ठ म्यानेजिङ डाइरेक्टर नभइ महाप्रबन्ध पदमा कार्यरत रहेको जनाएका छन् । कम्पनीले आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकारबाट निर्दिष्ट भएका सबै ऐन, नियम अक्षरस पालना गर्दै आइरहेको कार्कीले जनाएका छन् ।

‘आफ्ना कर्मचारीहरूलाई हालसम्म श्रम ऐनले निर्दिष्ट गरेका कुनैपनि सेवाबाट बञ्चित गराएको छैन’, कार्कीले भनेका छन्, ‘सबै काम सिस्टमअनुसार सम्पादन गर्दै आइरहेकै कारण सामाजिक सुरक्षा कोषको पाँचौ स्थापना दिवसको अवसरमा उक्त कोषमा सूचीकृत रोजगारदाताहरूमध्ये आफ्ना कर्मचारीहरूको योगदान गरिएको रकम र संख्याको आधारमा उत्कृष्ट कम्पनीको रुपमा यस गरुड सेक्युरिटीज प्रालि छनौट भई प्रसंशा पत्र प्राप्त गरेको छ ।’

कार्कीले भने, ‘कृषि विकास बैंकबाट यस कम्पनीलाई सुरक्षाकर्मी सेवा आपूर्ति गर्ने आशय पत्र प्राप्त भएअनुसार यस कम्पनीले मिति २०७९ साल श्रावण १ गतेबाट ३ वटा प्रदेशमा हालसम्म निरन्तर रुपमा सुरक्षा सेवा प्रदान गर्दै आइरहेको छ ।’

‘बैंकसंग भएको द्विपक्षीय सम्झौता बमोजिम उक्त बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलव लगायतका अन्य सेवा सुविधा सम्बन्धित कर्मचारीहरूको बैंक खातामा जम्मा गरिदै आइएको छ’, कार्कीले भने, ‘हालसम्म कृषि विकास बैंकमा कार्यरत कर्मचारीहरूबाट कुनैपनि समयमा आन्दोलन भएको छैन ।’

कार्कीले भने, ‘सोही खबरमा श्रम ऐनअनुसार श्रमिकहरूलाई रु १५ हजार दिनुपर्छ र अन्य सेवा सुविधा कम्पनीको तजविजी अधिकारमा भरपर्छ भनि उल्लेख भएको छ । कुनैपनि श्रमिकलाई तलव लगायतका अन्य सेवा सुविधा श्रम ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम उपलव्ध गराउनु पर्दछ र यस कम्पनीले श्रम ऐन र नियमावलीको अक्षरस पालना गरी आफ्ना कर्मचारीहरुलाई तलव लगायतका सम्पूर्ण सेवा सुविधाहरू उपलव्ध गराउंदै आइरहेको छ ।’

‘यसरी श्रमिकले पाउने तलव लगायतका अन्य सेवा सुविधा कम्पनीको तवबिजीमा नभई श्रम ऐन र नियमावली उपलव्ध गराउने व्यबस्थाको बारेमा सामान्य जानकारी समेत नभएको व्यक्ति खबरको श्रोत हुनु दुःखद छ’, कार्कीले खण्डनमा भनेका छन् ।

Published : Thursday, 2023 April 27, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया