वेबसाइटमै भाडामा गर्लफ्रेण्ड पाइने व्यवस्था

बेइजिङ । चीनमा युवाहरूले भाडामा केटी साथी (गर्लफ्रेण्ड) लिने व्यवस्था रहेको छ ।

परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने/बनाउने व्यवसाय फस्टाउँदै गएको छ ।

गर्लफ्रेण्डका लागि चीनमा वेबसाइट खोलिएको छ । सो वेबसाइटको नाम ‘८९वाइएन.कम.’ रहेको छ । यो वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी युवतीसँग भेटेका छन् ।

मुमु नाम भएकी ती युवतीका अनुसार एकदिन गर्लफ्रेन्ड बने वापत् उनले १४५ अमेरिकी डलर शुल्क लिन्छिन् । यात्रा गरेर कुनै ठाउँ जानु प¥यो भने थप शुल्क लाग्ने साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रकाले जनाएको छ ।

मुमुले पार्ट टाइम कामका रूपमा भाडामा गर्लफ्रेन्ड बन्ने गरेको बताएकी छिन् । चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक विदाका बेला गर्लफ्रेन्ड बन्नुपर्ने काम ह्वात्तै बढ्ने उनले बताएकी छिन् । विदाको समयमा गर्लफ्रेण्डको शुल्क निकै महँगो हुने गर्छ ।

चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर गएपछि धेरै प्रश्न झेल्नु पर्दैन भनेर यस्तो उपाय लगाएका हुन् ।

भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ ।

ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन् । चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ ।

एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ ।

चीनमा लागू भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ ।

विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छभन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको छ ।

Published : Tuesday, 2023 March 21, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया