अविराम सङ्गीत यात्रामा लम्किरहेका राजेन्द्र बजगाईं

भरतपुर । चितवनको पिठुवामा जन्मिएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं–८ का राजेन्द्र बजगाईं नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय र सिद्धहस्त सङ्गीतकार मानिन्छन् ।

विसं २०४४ साल चैत १४ गते जन्मिएका उनको घरको माहोल नै सङ्गीतमय थियो । सङ्गीतमा सङ्गीतिज्ञ गुरु तिलकसिं पेलासँग सारेगमको औपचारिक अध्ययनमा प्रवेश गरेका उनी थप अध्ययन गर्न शास्त्रीय सङ्गीतिज्ञ गुरुदेव कामतसँग जोडिए । सङ्गीत शिक्षापछि आफूमा थप निखारता ल्याउन र मूलधारको सङ्गीतमा भविष्य बनाउन अर्का सङ्गीत गुरु चण्डीप्रसाद काफ्लेसँग सङ्गीतको थप अध्ययन सुरू गरे । त्यसपछि बजगाईंले बर्दियामै साधना सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गरी आफूले जानेको कला प्रशिक्षार्थीलाई सिकाउने कार्यको थालनी गरे । अब म जे गर्छु गीतसङ्गीतमै गर्छु भन्ने संकल्प गरेका उनको सङ्गीतबाहेक दिमागमा केही आएन ।

कडा मेहनतले उनलाई नेपालकै सर्वाधिक व्यस्त र प्रख्यात सङ्गीतकारको परिचय दिएको छ । गीतकार, सङ्गीत संयोजक र सङ्गीतकारको रुपमा करिब सयौँ गीतमा उनले आफ्नो दक्षता देखाइसकेका छन् । नेपालका अधिकांश गायक गायिकाहरूले उनको सङ्गीतमा गीत गाइसकेका छन् । उनको पहिलो रेकर्डेट गीत ‘कसले चोर्‍यो ओँठको लाली’ हो जुन गीत विसं २०६४ सालमा बजारमा आएको थियो । आधुनिक गीत, राष्ट्रिय गीत, लोक गीत, शास्त्रीय गीत, बालगीत, चलचित्रका गीत, भजन, रेडियो जिंगल, विज्ञापनलगायत विविध विधालाई न्याय दिन सक्ने विलक्षण प्रतिभाका धनी उनले नेपाली, हिन्दी, मैथिली, भोजपुरी भाषाका गीतहरुमा समेत सङ्गीत भरिसकेका छन् ।

उनका लोकप्रिय गीतहरूमा ‘यो देशको लागि म’, ‘टेण्डर’, ‘मुसुमुसु हाँसेर’, ‘ट्राफिक जाम’, ‘ओ मेरो परान’, ‘चिनी अमिलो’, ‘जाला जोवन’, ‘डल्ली’, हरिबोल’ बर्खाको पानी’, भाकी रैछौ चट्टै’, यो त जाली सहर हो प्रिया’, झम्मक झम्मक’, भुलेर नजाऊ’, ‘झम्के झम्के साँझमा’, ‘फूल फुल्यो पारी’, ‘सुगर फ्रि’, ‘फूलको चोट’लगायतका रहेका छन् । उनले ‘म त मर्छु कि क्या हो’, ‘काँचुली’, ‘एकलब्य’, दिलमाया २ ‘लगायतका चलचित्रका गीतहरुमा सङ्गीत तथा केही चलचित्रमा पाश्र्व सङ्गीतको जिम्मेवारीसमेत निर्वाह गरेका छन् ।

अथक साधना र निरन्तर मेहनतको फलस्वरुप उनले विभिन्न अवार्ड तथा पुरस्कारसमेत प्राप्त गर्न सफल भएका छन् । ‘कालिका म्युजिक अवार्ड–२०७२’, ‘कालिका म्युजिक अवार्ड–२०७४’, ‘जिनियस म्युजिक अवार्ड–२०७५’, ‘नेपाल म्युजिक तथा फेशन अवार्ड–२०७७’, ‘बिराट म्युजिक अवार्ड–२०७८’, ‘क्वालिटी ईन्टरटेन्मेन्ट अवार्ड–२०७८’, ‘पिम नेपाल फिल्म फेस्टिभल अवार्ड–२०७८’, ‘दोस्रो हिमालयन ईन्टरनेशनल अवार्ड–२०७८’, ‘दसौँ नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२२’, ‘नेशनल क्यापिटल अवार्ड–२०२२’ सर्वोत्कृष्ट आठौँ नेशनल क्यापिटल अवार्ड प्राप्त गर्ने सौभाग्यशाली बजगाईं विभिन्न संघसंस्थाहरूबाट समेत सम्मानित भएका छन् ।

‘परिवर्तन तारा सम्मान–२०७०’, ‘कृष्णसार आइडल सिजन ४–सम्मान २०७१’, ‘परिवर्तन तारा सम्मान–२०७३’, ‘युवा स्रष्टा सम्मान–२०७४’, ‘बाँके बर्दिया राइजिङ स्टार–२०१६, ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान–२०७८’, ‘सङ्गीत सम्मान–२०७८’, ‘राष्ट्रिय सङ्गीतकार योगदान सम्मान–२०७८’, ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान–२०७९’, ‘मिक्सडिया फेशन शो सङ्गीत सम्मान–२०७८’ क्वालिटी इन्टरटेन्मेट २०७९ राष्ट्रिय सङ्गीतकर्मी सम्मान, तेस्रो जिनियस म्युजिक अवार्ड २०७८ सम्मान पत्र लगायतका थुप्रै सम्मान प्राप्त गर्न सफल सङ्गीतकार बजगाईं प्रतिभा प्रष्फुटन तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा निर्णायक समिति सदस्य (जुरी मेम्बर) भई कार्य व्यस्तताको बाबजुद पनि ‘इन्टरनेशनल फिल्म फेष्टिभल–२०२२’, ‘थर्ड टयलेन्ट स्टार नेपाल–२०२२’ र ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड–२०२२ को निष्पक्ष रुपमा आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने गरेका छन् ।

उनी ‘बर्दियाली कलाकार समाज’, ‘सङ्गीतकर्मी संघ’, ‘रोयल्टी संकलन समाज नेपाल’, ‘गीतकार संघ नेपाल’, ‘सङ्गीतकार संघ नेपाल’, ‘प्रस्तोता समाज नेपाल’, र ‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ को अध्यक्ष, लगायत अन्य संघसंस्थाहरूमा सक्रिय छन् ।
उनको अथक साधना र योगदानबाट नेपाली गीतसङ्गीत क्षेत्रको उचाइँ चुलिनुका साथै नयाँ तथा पुराना सर्जकहरूमा उर्जा प्रवाह भएको छ ।

Published : Monday, 2023 January 2, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया