सुन तस्करी काण्डमा मुछिएका सई हेडक्वाटर तानिए, दोषी पाइए जरैबाट कारबाही हुने

काठमाडौं । नेपाल प्रहरीले सुनतस्करी प्रकरणमा नाम मुछिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीउपर छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले मंगलबार विज्ञप्ति जारी गरेर सई कार्कीलाई झिाई निजउपर छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन् ।

‘केही दिनदेखि केही छापा तथा अनलाईन मिडियाहरूमा प्रकाशित सुनतस्करीसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएको पीएसओ सई कार्कीको संलग्नता भन्ने समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता राईले भनेका छन् ।

‘सोसम्बन्धमा गृहमन्त्रीज्यूको सुरक्षा समूहमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीलाई तत्कालै नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिाई निजउपर छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा अनुरोध गर्दछु’, राईले भनेका छन् ।

‘छानबिन तथा अनुसन्धान पश्चिात निज दोषी देखिए कानून बमोजिम कारबाही हुने व्यहोरा समेत अनुरोध गर्दछु’, प्रवक्ता राईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तस्करीको सुन लुकाएको आरोपमा कार्कीले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।

त्यससम्बन्धि उजुरी परेपछि सई कार्कीमाथि छानबिन शुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको छ । डीएसपीको नेतृत्वमा कार्कीमाथि छानबिन थालिएको छ ।

असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको विवादमा कार्कीको जोडिएको थियो । उनले चितवनका एक व्यक्तिलाई पक्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिएका हुन् ।

करीब २० लाख रुपियाँ बराबरको तस्करीको सुन चार जनाले गायब बनाएपछि तस्करका नाइके सई कार्कीलाई प्रयोग गरी सार्वजनिक मुद्दामा थुनाएर पैसा असुलेका हुन् । सुन तस्करी गर्ने व्यक्तिमाथि छानबिन शुरु भएको छैन ।

सुन तस्करीको भएकाले कतै उजुरी पनि नपर्ने भन्दै दुबईबाट आएका युवकहरूले गायब बनाउन खोजेका थिए ।

तस्करीमा संलग्न समूहको प्रहरी अधिकारीसँग समेत सेटिङ भएकाले उनीहरूले यसरी थुनाएर पैसा असुल्न खोजेका हुन् ।

यो घटनामा गौशाला वृत्तका तत्कालीन डीएसपी केशब भट्टराई पनि छानबिनमा तानिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

Published : Wednesday, 2022 August 24, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया