रामहरिको जिल्लामा कांग्रेसले लोकप्रिय नेतृ ‘बुलेटवाली’लाई कमाण्ड दियो

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगा जिल्लामा केन्द्रीय सदस्य एवम् महिला विभागकी पूर्वसचिव लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

युवा नेतृ खतिवडालाई कांग्रेस मुख्यालयले ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन विशेष जिम्मेवारीसहित खटाएको छ ।

ओखलढुंगा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको गृहजिल्ला पर्छ ।

नेतृ खतिवडालाई कांग्रेसले विशेष महत्व र जिम्मेवारी दिएर केन्द्रीय प्रतिनिधि बनाएर पठाएको छ ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा अभियान चलाउने निर्णय गरेको छ ।

सोही अभियानलाई कार्यान्वयन गर्न कांग्रेसले युवा नेतृ खतिवडालाई प्रतिनिधि खटाएको हो ।

कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

बुलेट बाईक चलाएर चर्चित बनेकी नेतृ खतिवडालाई सभापति शेरबहादुर देउवाले केही दिन अगाडि मात्रै केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । नेतृ खतिवडा युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

Published : Tuesday, 2022 August 23, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया