महोत्तरीमा अश्लील हर्कत गर्ने युवतीहरूसहितको ग्याङलाई कारबाही

महोत्तरी । महोत्तरीमा कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम तथा आर्केष्ट्रामा अश्लीलता प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गर्नुका साथै कारबाही गरेको छ ।

अश्लीलता पस्किने र दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्नेलाई प्रहरीले कारबाही गरेको हो । केहि कार्यक्रमलाई प्रहरीले बन्द गराएको छ ।

गौशाला नगरपालिका–११ कान्तिबजार तथा गौशालाकै निगौलबाट ९ जना महिला कलाकार र ३ जना पुरुषलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

उनीहरू साँस्कृतिक कार्यक्रमको लागि बोलाइएको भनिएपनि दोहोरो अर्थ लाग्ने गीतमा उत्तेजित पार्ने खालको नृत्य प्रस्तुत गरिरहेको प्रहरीले जनाएको छ ।

शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय अराजक युवाहरूले हुलहुज्जत गर्न खोजेका छन् ।

कान्तीबजार प्रहरी चौकीमा ढुंगामुढा समेत गरेपछि दुई जनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूरमा प्रहरीले मुद्दा समेत चलाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाका ईन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्रको कमाण्डमा गएको प्रहरी टोलीले अश्लील र उत्तेजित हर्कत गर्ने कलाकारहरूलाई शनिबार राति नै नियन्त्रणमा लिएको थियो ।

आइतबार आफ्नो घर फर्कने सर्तमा उनीहरूलाई मुक्त गरेको निरीक्षक मिश्रले बताएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालयले पहिले नै आर्केस्ट्रा कार्यक्रम (अश्लीलता झल्कने) नगर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाको बेवास्ता गर्दै कार्यक्रम संचालन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले सभ्य र मर्यादित कार्यक्रम चलाउन कतै बाधा अवरोध नभएपनि अश्लीलता खालका कार्यक्रम संचालन गर्न नदिने चेतावनी दिएका छन् ।

प्रहरीले सकृयता पूर्वक अश्लील हर्कत देखाइएका कार्यक्रम बन्द गराएको उनले बताएका छन् ।

एसपी पंगेनीले बारम्वार सम्झाउँदा समेत सचेत नहुने कार्यक्रमका आयोजकहरूलाई समेत कायरवाहीको दायरामा ल्याउने तयारी रहेको बताएका छन् ।

एसपी पंगेनीले अब चाडपर्वको समय शुरु भैसकेकोमा आगामी दिनमा समेत अश्लीलता झल्कने कार्यक्रममा पूर्ण बन्देज लगाउन प्रहरी प्रतिवद्ध रहेको बताएका छन् ।

केही स्थानमा प्रहरीको आँखा छलेर अश्लील हर्कतसहितका कार्यक्रम गर्ने प्रयासहरू भइरहेका छन् ।

शुक्रबार र शनिबार प्रहरीले त्यस्ता कार्यक्रमलाई कडा निगरानी राखेको थियो । अराजक समूहले अश्लीलता झल्कने कार्यक्रम पनि गर्ने प्रयास गरेका छन् ।

Published : Monday, 2022 August 22, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया