पूर्व तथा वहालवाला प्रहरीवीच आपसी भाइचारा राख्न आईजीपी सिंहको आग्रह

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राख्न आग्रह गरेका छन् ।

शनिबार प्रधान कार्यालय नक्सालमा आयोजित भिडियो कन्फ्रेन्समार्फत् आईजीपी सिंहले सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध रहेको बताए ।

उनले पूर्व प्रहरी कर्मचारी तथा अग्रज प्रहरीहरूले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय संगठनको विकासमा खर्चिएर पुर्‍याएको योगदानको उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रहरीको संस्थागत विकास एवम् सेवा प्रवाहमा पूर्व प्रहरी कर्मचारीबाट सल्लाह, सुझाव एवम् रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।

उनले पूर्व प्रहरी कर्मचारी तथा वहालवाला प्रहरी कर्मचारीहरूको आत्मसम्मान, सन्ततीहरूको शिक्षा र स्वास्थ्य क्षेत्र लगायतका कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताएका छन् ।

पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाल पूर्व प्रहरी संगठनका कार्यवाहक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रूपसागर मोक्तान र नेपाल पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले भर्चुअल रूपमा संचालन गरेका थिए ।

Published : Sunday, 2022 August 21, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया