प्रहरी श्रीमती संघद्वारा सम्मान र सहयोगहरू प्रदान, मन्त्री रेग्मीद्वारा प्रशंसा

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव भव्य कार्यक्रमसहित सम्पन्न भएको छ ।

शनिबार महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय नक्सालमा विशेष समारोहमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री रेग्मीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइने । रेग्मीले संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी’को विमोचन समेत गरेकी छिन् ।

मन्त्री रेग्मीले संघलाई निरन्तर रूपमा सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा उल्लेखनीय सहयोग पु¥याउनेहरूलाई सम्मान गरेकी छिन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका अध्यक्ष पाण्डव हमाल र सह–अध्यक्ष सुवास न्यौपाने, चितवन मेडिकल कलेज भरतपुर चितवनका सिइओ प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्स भरतपुरका डा.सुदीपराज केसी, एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र वेदाज कलेजका संचालक विष्णुहरि पाण्डे तथा लर्ड बुद्ध एकेडेमी फाउन्डेसनका संचालक पंकज जलानलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

रेग्मीले नेपाल प्रहरी श्रीमती संघले आगामी दिनमा समाजको कमजोर असहाय एवं बिपन्न वर्गलाई सहयोग गर्नुको साथै क्षमता अभिवृद्धि एवं महिला सशक्तिकरण लगायतका कार्यलाई सहज तुल्याउन सशक्त र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् ।

महिलालाई हरेक क्षेत्रमा समान अधिकार दिलाउन सकेमा मात्र समानतामूलक समाज निर्माण गर्न सकिने उनले बताएकी छिन् । घरभित्र मात्र नभई कुनै निकायबाट प्रदान हुने सेवाहरूमा पनि महिलाहरूलाई उत्तिनै समान व्यवहार हुनुपर्ने रेग्मीले बताएकी छिन् ।

महिलाविरुद्ध हुने हिंसा तथा भेदभावका गतिविधिलाई नेपाल प्रहरी श्रीमती संघले अझ नजिकबाट नियालेर हिंसा र भेदभावलाई समाप्त पार्न अझ बढी अग्रसर भएर लाग्न उनले आग्रह समेत गरेकी छिन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला फुटबल टिमलाई पहिचान दिलाउन महत्वपूर्ण योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरेका छन् ।

सिंहले एन्फा वमन एशोसिएसनका अध्यक्ष पेमा डोल्मा लामा तथा फरक रूपमा सक्षम बालबालिकाहरूलाई अर्न्तदृष्टि संस्थामार्फत सेवा पु¥याँउदै आएका अर्न्तदृष्टि नेपालका संचालक नन्दा सिंहलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले कर्तव्यपालनाको सिलसिलामा अमरत्व प्राप्त गरेका अमर प्रहरी हवल्दार मनोजकुमार र श्रीमती आरती हमालका सुपुत्र हार्दिक हमाललाई ईलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेकी छिन् ।

संघकी अध्यक्ष सिंह र डिएभी कलेजका संचालक अनिल केडियाले ललितपुर थसीखेल बस्ने आदित्य अधिकारीलाई कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण दिवा छात्रवृत्ति प्रदान गरेका छन् ।

अध्यक्ष सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउने महानुभावहरू, संघ संस्था तथा सम्पूर्ण सहयोगीहातप्रति हार्दिक आभार प्रकट गरेकी छिन् ।

आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको अध्यक्ष सिंहले उल्लेख गरेकी छिन् ।

संघलाई थप उर्जामूलक, सेवामूलक र उपलव्धीमूलक बनाई अझ बढी मानव केन्द्रित र विस्तारित सेवा दिँदै जाने विश्वास उनले व्यक्त गरेकी छिन् ।

संघकी महासचिव सुनम पोखरेलले स्वागत मन्तव्य तथा संघको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गरेका थिए । विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

Published : Sunday, 2022 August 21, 8:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया