तनहुँ–१ मा कांग्रेसका युवा नेता भट्टराईद्वारा उम्मेदवारी घोषणा, तरुण–विद्यार्थीमा खुसीयाली

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार तनहुँमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले क्षेत्र नं. १ मा कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार हुन चाहेको बताए ।

‘यो क्षेत्रमा मेरो वडा पनि छ’, उनले भने, ‘अहिले धेरै काम गरेको छु । यो क्षेत्रको विकासको सबै जिम्मा म लिनेछु ।’

उनले नयाँ विचार र योजना भएकालाई टिकट दिए तनहुँमा मात्र नभई देशभरि कांग्रेसको जित सुनिश्चित रहेको बताए । उनले देशभरि कांग्रेसले नयाँ अनुहारलाई टिकट दिनुपर्ने बताएका छन् ।

नेता भट्टराईले नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको बताए ।

‘नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको छ’, उनले भने, ‘देशका महत्वपूर्ण सहरमा स्वतन्त्र कामै नगरेका विजयी भएका छन् ।’

नेता भट्टराईले कांग्रेसको झण्डा देशभरि फहराउन पनि नयाँ सोंच, कार्यक्रम, योजना र दृष्टिकोण भएकालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

‘पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरूको संघर्ष, ज्ञान, क्षमता, समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ’, उनले भनेका छन् ।

उनले नयाँ सोच, विचार, योजना अनि दृष्टिकोण भएकालाई पार्टीले टिकट दिएमा तनहुँका सबै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन सकिने बताएका छन् ।

तनहुँको क्षेत्र नं. १ मा विगतमा तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठले जितेका थिए । यो क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका श्रेष्ठसँग पराजित भएका थिए ।

तनहुँ क्षेत्र नं. १ मा कांग्रेसबाट कसले टिकट पाउला भन्ने चर्चा छ । नेता भट्टराईले पनि दाबी गरेपछि पौडेललाई तनाब भएको छ ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

यसअघि राजधानीमा भएको जिल्लाका केन्द्रीय सदस्य तथा नेताहरूबीचको छलफलका क्रममा केहीले नेता पौडेललाई प्रत्यक्ष चुनाव नलड्न सुझाव दिएका थिए ।

तनहुँ क्षेत्र नं. १ मा पूर्वमन्त्री गोविन्दराज जोशीले पनि दाबी गरेका छन् । जोशीले उम्मेदवारी दिएमा वा जोशीको समर्थनमा अर्को उम्मेदवार उठ्यो भने नेता पौडेललाई तनाब हुनेछ । नेता पौडेलले प्रत्यक्षमा भट्टराईलाई नै टिकटमा सहयोग गर्ने हो भने कांग्रेसले जित्नेछ । अन्यथा कांग्रेसलाई संकट आउन सक्छ ।

Published : Saturday, 2022 August 20, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया