अक्षरामा ‘संस्कारी पाठ्यक्रम’ शुरु, बालबालिकाका लागि बजारमा आयो पुस्तक

काठमाडौं । काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलले ‘बनौं संस्कारी’ पाठ्यक्रम शुरु गरेको छ ।

पाठ्यक्रममा सहयोग पुग्ने पुस्तकको शुक्रवार विमोचन गरिएको छ । वरिष्ठ चिकित्सक डा.भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तककका लेखक डा.राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरेका छन् ।

पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य विर्सदै गएको बताए ।

संस्कार विर्सेका कारण यस्तो भएकाले न्यूनतम मानवीय मूल्य विर्सदै गएको बताउँदै उनले भने, ‘अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ ।’

‘यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन’, उनले भनेका छन् ।

कोइरालाले पुस्तकमा १०१ गुण हुनुपर्नेमा जोड दिएपनि सबै कार्यन्वयन गर्न गाह्रो हुने तर, ५ वटा मात्रै धारण गरे भने पनि जीवन सफल हुने बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामी सबै हाम्रा नानीबाबु असल होउन भन्ने चाहन्छौं । कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने गरेका छैनौं ।’

उनले भने, ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्र अंक ल्याएर पास गर्छाै । जीवनको परीक्षामा भने फेल भइराखेका छौं ।’
असल समाज र असल व्यक्ति निर्माण गर्ने संस्कारी शिक्षाले नै भएको थपलियाले बताए ।

थपलियाले भने, ‘संसार बदल्ने हो भने पहिला आफै बदलिनु पर्छ । आफै बदलिन संस्कार जान्नु पर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ ।’

स्कुलकी संस्थापक एवं प्रिन्सिपल अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्षअघि स्कुलको स्थापना गरेको बताइन् ।

भट्टराईले भनेकी छिन्, ‘हाम्रो विद्यालयको मिसनसंग यो पुस्तक मिल्ने रहेछ ।’

‘त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौं’, उनले भनेकी छिन्, ‘अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ ।’

लेखक अधिकारीले शिक्षा छ तर, संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए ।

जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनै पर्नेमा लेखक अधिकारीले बताएका छन् ।

सन्तानको कुशलताको लागि पुस्तक लेखेको पनि उनले जानकारी दिएका छन् ।

अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।

Published : Saturday, 2022 August 20, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया