झापाका खतिवडा काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले ३४ वर्षीय दिनेश खतिवडालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार झापाका खतिवडालाई काठमाडौंको मीनभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ सीतापाइला बस्ने झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपियाँ तलव पाउने गरी काम लगाइ दिने झुठो आश्वासन खतिवडाले दिएका थिए ।

यसका लागि नगद १० लाख रुपियाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपियाँ लिई फरार रहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2022 August 18, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया