ट्राफिकद्वारा काठमाडौंमा कलेजका ११८ ‘अराजक’ विद्यार्थीलाई कारवाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर बिभिन्न अभियान संचालन गर्दै आइरहेको छ ।

मंगलबार बिहान कलेजका विद्यार्थी लक्षित ट्राफिक चेकजाँच अभियान सम्पन्न भएको छ ।

चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना, सवारी दर्ता किताव नभएका ३९ जना र तीन जना सवार ७ जना विघार्थी कारवाहीमा परेका छन् ।

हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विघार्थी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्ने विद्यार्थीमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यकाभित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन् ।

जसमध्ये ८ हजार ३ सय ६४ वटा दुई पांग्रे सवारी साधन रहेका छन ।

सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ ।

जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश दुई पांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन ।

उमेर समूहका आधारमा हेर्ने हो भने १७ वर्षदेखि ३५ वर्ष सम्मका दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन् ।

यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुई पाङ्ग्रे सवारी साधन देखिएकोले दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको छ ।

Published : Wednesday, 2022 August 17, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया