आईजीपी सिंहले दिए निर्वाचनमा केन्द्रित हुन निर्देशन

जनकपुरधाम । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष भयरहित तवरमा नागरिकको मतअधिकारको प्रयोग गर्न दिने वातावरण बनाउनु नै समस्त प्रहरी कर्मचारीहरूको एकमात्र उद्देश्य रहेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी– २०७९ लाई सम्बोधन गर्दै सिंहले अपराधीलाई कानून बमोजिम सजाय र पीडितलाई न्याय दिलाउनको लागि फौजदारी न्याय प्रणालीका तीन वटा पिलर रहेको बताए ।

उनले भने, ‘अनुसन्धान, अभियोजन र न्याय निरूपण बिच अत्यन्तै राम्रो समन्वय र समझदारी हुन आवश्यक रहेको छ ।’

उनले प्रविधिको विकाससँगै बढ्दै गएका आर्थिक अपराध, साइबर अपराध, बैंकिङ कसूर लगायतका अपराधहरूको न्यूनीकरणका लागि केन्द्रमा मात्र नभई यस्ता मुद्दाको निरूपणका लागि प्रदेशस्तरमा समेत अदालत तोकिनुपर्ने बताएका छन् ।

गोष्ठीमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रमाणमुखी अनुसन्धानको पद्धतिलाई अवलम्बन गर्नुपर्ने बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, प्रविधिको विकाससँगै यसको दुरुपयोग बढ्दै गएको बताए । उनले यसको नियन्त्रणको लागि अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।

प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँले धन्यवाद दिएका थिए ।

मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयका प्रदेशसचिव रामकुमार महतो र उच्च सरकारी वकिल कार्यालयका उप–न्यायाधिवक्ता विवेककुमार बरालले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

मधेश प्रदेशअन्तर्गतका ८ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरूको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

समीक्षा गोष्ठीपछि आईजीपीद्वय सिंह र आर्याल लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच शान्ति सुरक्षामा समन्वय, सहकार्य तथा सहयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

Published : Tuesday, 2022 August 16, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया