ओली र कम्युनिस्ट भन्नेवित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी

लमही । शहरी विकासमन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को जनवर्गीय संगठनको भेलालाई लमहीमा सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधान विपरीत संसदको दुई–दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’

एमाले अध्यक्ष खड्गप्रसाद ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको उनले बताए ।

मन्त्री चौधरीले भने, ‘ठूलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन ।’

उनले प्रश्न गर्दै भने, ‘अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठूलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

कम्युनिष्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको बताए ।

एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य शारदा स्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरी लगायतले मन्तव्य राखेका थिए ।

यसैबीच, मन्त्री चौधरीले घोराहीसहित दाङका विभिन्न स्थानमा विकासका योजनाहरूको शिलान्यास गर्नुका साथै नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

मन्त्री चौधरी बेलाबेला आफ्नो गृहजिल्ला दाङमा जाने गरेका छन् ।

दाङ क्षेत्र नं. १ बाट मन्त्री चौधरीले पुनः प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरेका छन् । सम्भवत् मन्त्री चौधरीलाई नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले दाङको क्षेत्र नं. १ बाटै उम्मेदवार बनाउनेछ ।

Published : Monday, 2022 August 15, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया