बागमती कांग्रेसका सभापति बानियाँसहितका नेताहरूद्वारा स्व.बादेप्रति श्रद्धाञ्जलि व्यक्त

बनेपा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्व.गोपालदास बादेको मुलुकको राजनीतिक परिवर्तनमा भएको योगदानको स्मरण गरेका छन् ।

सोमबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्व.गोपालदास बादेको १३औं दिनका पून्यतिथि एवम् श्रद्धाञ्जलि सभा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले वीपी कोइराला, गणेशमान सिंहसँग राजनीतिक परिवर्तनमा योगदान गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको लामो प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलन र मुलुकको सम्पूर्ण राजनीतिक परिवर्तनमा आफ्नो जीवनको अन्तिम क्षणसम्म सक्रिय बनाउनुभयो ।’

‘नेपाली कांग्रेस र लोकतन्त्रको लागि तथा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदै गर्दा पनि हामीले निरन्तर संघर्ष गरेको लोकतान्त्रिक योद्धा हुनुहुन्थ्यो गोपालदास बादे’, बानियाँले भनेका छन् ।

‘स्व.गोपालदास बादे राजनीतिक परिवर्तनमा गणेशमान सिंह, वीपी कोइरालासँग बसेर निरन्तर राजनीतिक संघर्ष गरेको राजनीतिक यात्री हो’, उनले भने, ‘मृत्यु स्वभाविक छ । मान्छे जन्मिएपछि मर्छ । उहाँले ९७ वर्षसम्म सामाजिक, राजनीतिक, परिवर्तनको यात्रामा समाजलाई निष्ठा र ईमान्दारितापूर्वक बाटो देखाउनुभयो ।’

कार्यक्रममा केन्द्रीय सदस्य प्रकाशमान सिंह र मधु आचार्य, काभ्रेपलाञ्चोक कांग्रेसका सभापति तीर्थ लामा, बागमती कांग्रेसका महामन्त्री कञ्चनचन्द्र बादे, सह–महामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डङ्गोललगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2022 August 15, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया